रुस–इरान स्वास्थ्य सहकार्यमा नयाँ गति

शिक्षा, औषधि र प्रविधिमार्फत मित्रता र आपसी विश्वासको सुदृढीकरण

मस्को। रुस र इरानबीच स्वास्थ्य क्षेत्रको द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने दिशामा महत्त्वपूर्ण छलफल भएको छ। रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्को र रुसी महासंघका लागि इरानका राजदूत काजेम जलालीबीच तेहरानमा आयोजना हुन लागेको अन्तरसरकारी आयोगको १९औँ बैठकको पूर्वसन्ध्यामा भेटवार्ता भएको हो।

भेटमा स्वास्थ्य, चिकित्साशिक्षा, औषधि उद्योग तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा गहन छलफल भएको रुसी स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्यमन्त्री मुराश्कोले रुस–इरान सम्बन्धलाई केवल शैक्षिक सहकार्यको दायरामा सीमित नराखी मित्रता र आपसी विश्वासको आधारमा अझ बलियो बनाउनु आवश्यक रहेको जोड दिए। “हाम्रो लक्ष्य केवल सहकार्य होइन, देशहरूबीच दीर्घकालीन मित्रता र पारस्परिक विश्वासको सुदृढीकरण हो,” उनले भने।

चिकित्साशिक्षाको क्षेत्रमा रुस विश्वव्यापी आकर्षणको केन्द्र बन्दै गएको उल्लेख गर्दै मन्त्री मुराश्कोले हाल रुसमा १५० भन्दा बढी देशका ७५ हजारभन्दा बढी विदेशी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए। तीमध्ये करिब ६ हजार इरानी नागरिक रुसी स्वास्थ्य मन्त्रालय अन्तर्गतका चिकित्सा विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका छन्।

इरानी राजदूत काजेम जलालीले पनि पछिल्ला वर्षहरूमा रुसमा अध्ययन गर्न आउने युवा इरानीहरूको संख्या उल्लेखनीय रूपमा बढेको बताए। उनका अनुसार हाल करिब १० हजार इरानी विद्यार्थी रुसमा अध्ययनरत छन्। “म सधैँ विद्यार्थीलाई द्विपक्षीय सम्बन्ध विकासको सबैभन्दा ठूलो पूँजी मान्छु। उनीहरूले दुवै देशका साझा लक्ष्य र उद्देश्यलाई अगाडि बढाउन ठूलो योगदान पुर्‍याउँछन्,” जलालीले भने।

भेटका क्रममा मन्त्री मुराश्कोले इरानी प्रतिनिधिमण्डलले यसअघि सेचेनोभ विश्वविद्यालय लगायत रुसी चिकित्सा विश्वविद्यालयहरूको भ्रमण गरी त्यहाँ अध्ययनरत इरानी विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरेको स्मरण गराए। यसले सहकार्यलाई व्यवहारिक र प्रभावकारी बनाउन सहयोग पुगेको उनको भनाइ थियो।

छलफलमा औषधि उद्योग र प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय पनि प्रमुख रूपमा उठ्यो। रुसी र इरानी औषधि कम्पनीहरूबीच प्रविधि आदान–प्रदान, संयुक्त उत्पादन र वैज्ञानिक परियोजनामा सहकार्य तीव्र बन्दै गएको जनाइएको छ। यसका लागि विभिन्न संस्थान र कम्पनीहरूबीच सहकार्य सम्बन्धी समझदारीपत्रहरूमा हस्ताक्षर भइसकेका छन् भने कन्क्ट्र्याक्ट म्यानुफ्याक्चरिङको एकीकरण प्रक्रिया पनि अघि बढाइएको छ।

विशेष गरी, रुसी जेलेनोग्राद न्यानोटेक्नोलोजी केन्द्रले इरानी विकासहरू, औषधि उत्पादनसहित, रुसी उत्पादन प्रणालीमा एकीकृत गर्ने काम गरिरहेको जानकारी दिइएको छ।

बैठकको अन्त्यमा दुवै पक्षले स्वास्थ्य, शिक्षा र औद्योगिक सहकार्य मार्फत रुस–इरान सम्बन्धलाई थप मजबुत बनाउने साझा प्रतिबद्धता व्यक्त गरे। स्वास्थ्य क्षेत्रमा सहकार्यले दुवै देशका जनताको जीवनस्तर सुधार गर्नुका साथै दीर्घकालीन रणनीतिक साझेदारीलाई थप गहिरो बनाउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button