दोधारे परराष्ट्रनीतिबाट राष्ट्रिय स्वाभिमानतर्फ फर्किने समय

सम्पादकीय

नेपालकाे असंलग्न परराष्ट्र नीतिका नाममा वर्षौंदेखि चल्दै आएको नाटक अब बन्द हुनैपर्छ। यो कुनै एक दिनको, एक व्यक्तिको गतिविधि, वा एउटा प्रशासनिक भूल मात्र होइन। यो हाम्रो राज्य–व्यवस्थामा गहिरोसँग जरा गाडेर बसेको दोधारे सोच, अस्पष्ट परराष्ट्रनीति र सीमित नेतृत्वको स्वार्थप्रधान निर्णय प्रक्रियाको परिणाम हो। प्रश्न सरल छ, नेपाल देश कसको हो ? केही व्यक्तिको, केही समूहको, कि ३ करोड नेपालीको ?

राष्ट्रियता कुनै नारा होइन। देशभक्ति भाषणमा सीमित भावनात्मक शब्द पनि होइन। राष्ट्रियता भनेको नीतिमा स्पष्टता, व्यवहारमा इमानदारीता र निर्णयमा जनहितको सर्वोच्चता हो। तर आजको नेपालमा यही तीन कुराको अभाव देखिन्छ। हामी ‘असंलग्न’ भन्छौँ, तर व्यवहारमा कसैको पक्षपोषण गर्छौँ। हामी ‘सन्तुलन’ भन्छौँ, तर व्यवहारमा दोधारेपन देखाउँछौँ। यही असंगतिले नेपाललाई कमजोर बनाएको छ, अन्तर्राष्ट्रिय मञ्चमा पनि, आफ्नै जनताबीच पनि।

परराष्ट्रनीति कुनै सीमित नेताको निजी खेल होइन। यो राष्ट्रको दीर्घकालीन सुरक्षा, स्थायित्व र समृद्धिसँग जोडिएको विषय हो। छिमेकीहरूसँगको सम्बन्ध भावनामा होइन, स्पष्ट सिद्धान्तमा आधारित हुनुपर्छ। नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील देशका लागि अस्पष्टता सबैभन्दा ठूलो जोखिम हो। जब नीति स्पष्ट हुँदैन, निर्णय सीमित हातमा केन्द्रित हुन्छ; अनि त्यो निर्णय देश र जनताको हितभन्दा बाहिर जान थाल्छ।

आज देखिएको समस्या यही हो। नेपाल–चीन सम्बन्धलाई औपचारिक रूपमा मित्रता भनिन्छ, तर व्यवहारमा बारम्बार प्रश्न उठ्ने कामहरू हुन्छन्। राज्य संयन्त्र मौन बस्छ, जिम्मेवारी कसैले लिँदैन, अनि अन्ततः बदनाम हुने राष्ट्र नै हुन्छ। यो न मित्रता हो, न कूटनीति। यो त राष्ट्रिय स्वाभिमान माथिको खेलवाड हो।

देश चलाउने जिम्मेवारी पाएका नेताहरूले बुझ्नैपर्छ कि नेपाल कुनै व्यक्तिको निजी सम्पत्ति होइन। यहाँ लिइने हरेक निर्णयले भविष्यका पुस्तालाई असर गर्छ। जनताको बहुमत हितविपरीत नीति लागु हुन्छ भने त्यो लोकतन्त्र होइन, सीमित नेतृत्वको स्वेच्छाचार हो। देशभक्ति भनेको आलोचना नगर्नु होइन; देशभक्ति भनेको गलतलाई गलत भन्नु र सही बाटो रोज्न दबाब सिर्जना गर्नु हो।

नेपालको परराष्ट्रनीतिमा अब यी कुरा अनिवार्य छन्। असंलग्न भनिएपछि व्यवहार पनि असंलग्न हुनुपर्छ। कुनै पक्षसँग मित्रता राख्दा अर्को पक्षविरुद्ध भूमिकामा देखिनु हुँदैन। राज्यका नाममा हुने गतिविधि, निर्णय र सहमति जनतालाई थाहा हुनुपर्छ। गोप्य निर्णयले राष्ट्रलाई होइन, केही व्यक्तिलाई मात्र फाइदा गर्छ। गलत निर्णय गर्ने, राष्ट्रको प्रतिष्ठामा आँच ल्याउने जो–कोही पनि जवाफदेही हुनुपर्छ, पद, पहुँच वा हैसियतको आधारमा होइन।

राष्ट्रियता कुनै देशविरोधी भावना भड्काउने साधन होइन। न त यो छिमेकीसँग दुश्मनी बढाउने अस्त्र हो। साँचो देशभक्ति भनेको आफ्नै घर सफा गर्नु हो, नीति स्पष्ट बनाउनु, संस्थागत निर्णय प्रक्रिया बलियो बनाउनु र जनताको आवाजलाई केन्द्रमा राख्नु हो।

आज नेपाल निर्णायक मोडमा छ। हामी या त दोधारेपन, अस्पष्टता र सीमित नेतृत्वको स्वार्थमा अल्झिरहन्छौँ, या स्पष्ट नीति, संस्थागत शासन र राष्ट्रिय स्वाभिमानको बाटो रोज्छौँ। अर्को विकल्प देखिदैन।

नेपाल सबै नेपालीको हो। त्यसैले यसको परराष्ट्रनीति पनि सबै नेपालीको हितमा हुनुपर्छ स्पष्ट, इमानदार र आत्मसम्मानपूर्ण। यही साँचो अर्थमा खरो देशभक्ति हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button