ओलीविरुद्ध भ्रामक प्रचार गर्ने कलाकारमाथि कारवाही माग

कलाकार र प्रविधिको दुरुपयोग गरी पार्टी नेतृत्वमाथि योजनावद्ध आक्रमण भएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।
प्रचार विभाग प्रमुख तथा आम चुनावका लागि प्रेस संयोजक मीनबहादुर शाहीले विज्ञप्ति सार्वजनिक गर्दै भ्रामक प्रचारप्रसारमा संलग्न कलाकारमाथि कारबाही गर्न मागसमेत गरेका छन् ।
‘नेकपा एमालेको निर्वाचन चिन्ह परिवर्तनलगायतका भ्रामक प्रचार सामग्री तया गरी प्रसारण गर्ने कलाकार वा जोकोहीलाई पनि कानूनको दायरामा ल्याउन हामी जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै गालीगलौज, अमर्यादित र असभ्य शब्दको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको समेत उल्लङ्घन हुनेगरी सामाजिक सञ्जालमा प्रसारित सामग्रीप्रति आपत्ति जनाउँदै भनिएको छ, ‘यस्ता असभ्य, गैराजनीतिक र आपत्तिजनक अभिव्यक्तिहरुको कडा शब्दमा भर्त्सना तथा निन्दा गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई विनम्रतापूर्वक अनुरोध गर्दछ ।’
त्यस्तै, फागुन २१ गते भयरहित र निर्भिक भएर मतदान गर्नसक्ने वातावरण अझै नबनेको एमालेको ठहर छ । जेनजी आन्दोलनमा जेलबाट भागेका हजारौं कैदीबन्दी, लुटिएका हातहतियार र गोलीगठ्ठा बाहिरै रहेको तर सरकारले यसलाई गम्भीरतापूर्वक नलिएको उसको गुनासो छ ।
एमालेले शान्ति सुरक्षाका निम्ति विभिन्न घटनाको शीघ्र छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गरेको छ । साथै, राष्ट्रिय एकतामा खलल पुर्याउने र समुदायलाई उत्तेजित बनाउनेगरी भइरहेका भडकाउपूर्ण व्यवहार र प्रचारप्रसारको शैलीप्रति निगरानी बढाउन पनि आग्रह गरिएको छ ।
अन्यथा, यस्ता गतिविधिबाट समाजमा बढ्नसक्ने अराजकता, हिंसा, विध्वंश र कानून उल्लङ्घनका घटनाप्रति सरकार र सम्बन्धित पक्ष जिम्मेवार हुने चेतावनी दिइएको छ ।
Jana Aastha





