सरकारलाई चाइना स्टडी सेन्टरकाे चेतावनी
"चीनको विश्वास बिना नेपालको अस्तित्व कमजोर हुनेछ"

काठमाडौं। चाइना स्टडी सेन्टरले सुशीला कार्की नेतृत्वको सरकारको चीनविरोधी नीति र नेपालभित्र ‘स्वतन्त्र तिब्बत’ अभियानलाई बढावा दिने प्रयासको कडा निन्दा गरेको छ। संस्थाका अध्यक्ष मदन रेग्मीले जारी गरेको विज्ञप्तिमा सरकार, प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरूलाई सहस्रौं वर्ष पुरानो नेपाल-चीन मैत्रीपूर्ण सम्बन्धको यथास्थिति कायम राख्न चेतावनी दिइएको छ।

विज्ञप्तिमा नेपाल-चीनबीच आर्थिक, सांस्कृतिक, सामाजिक, धार्मिक र रक्तसम्बन्धका साथै ७औं शताब्दीदेखिको रक्षा सहयोग र १७९२ को बेत्रावती सन्धिको ऐतिहासिक पृष्ठभूमि पनि उल्लेख गरिएको छ। यसमाँ जोड दिँदै चीन अध्ययन केन्द्रका अध्यक्ष रेग्मीले भनेका छन्, “चीनको सहयोग, सद्भावना र विश्वास बिना नेपालको अस्तित्व अझ कमजोर हुनेछ र गरिमापूर्ण जीवनको नेपाली जनताको सपना टाढा पर्नेछ। यो निर्विवाद वास्तविकता हो।”
यस विज्ञप्तिले हालसालै नेपालमा तिब्बती मुद्दालाई लिएर सक्रिय भएका तत्वहरूप्रति असन्तुष्टि व्यक्त गरेको छ भने चीनसँगको सम्बन्धमा संवेदनशील हुन सरकारलाई स्पष्ट सन्देश दिएको छ। चाइना स्टडी सेन्टर नेपाल-चीन द्विपक्षीय सम्बन्धको अध्ययन र विश्लेषण गर्ने संस्था हो।





