देशभक्त र लोकतान्त्रिक शक्तिको पुनर्स्थापनाका लागि ओलीलाई नै नेतृत्वमा अघि सार्दै

काठमाडौँ। नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै आगामी चुनावी मैदानमा होमिने घोषणा गरेको छ। मुलुकको राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक मूल्य र देशभक्त शक्तिहरूको पुनर्स्थापनाका लागि ओलीको नेतृत्व अपरिहार्य रहेको निष्कर्ष सहित पार्टीले यो निर्णय सार्वजनिक गरेको हो।

आज पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमालेका उपाध्यक्ष रामबहादुर थापाले वर्तमान राजनीतिक परिस्थितिमा बलियो, राष्ट्रकेन्द्रित र निर्णय क्षमतायुक्त नेतृत्व आवश्यक भएकाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको प्रस्ताव सहित चुनावमा जाने स्पष्ट पारे। उनले भने, “देश बनाउने शक्तिलाई जिताउनुपर्छ, यही उद्देश्यका साथ एमाले चुनावी यात्रामा अघि बढेको हो।”

उपाध्यक्ष थापाले नेपालको आर्थिक सूचकाङ्क सकारात्मक दिशामा रहेको, समृद्धिको एकीकृत खाकासहित विकास निर्माणका काम अघि बढिरहेको अवस्थामा विभिन्न स्वार्थ समूहहरू सक्रिय भई अघिल्लो सरकारलाई विस्थापन गर्ने अवस्था सिर्जना भएको टिप्पणी गरे। यस्तो परिस्थितिमा जनताले सही मूल्याङ्कन गर्दै राष्ट्रहितमा उभिने शक्तिलाई साथ दिनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ थियो।

उनले न्यायपालिकाको भूमिकाप्रति पनि ध्यानाकर्षण गराउँदै संसद पुनःस्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यथाशीघ्र फैसला दिनुपर्ने आवश्यकता औँल्याए। राजनीतिक अन्योल अन्त्य गर्न र लोकतान्त्रिक प्रक्रियालाई स्पष्ट दिशामा अघि बढाउन अदालतको समयमै निर्णय महत्वपूर्ण हुने उनले बताए।

पत्रकार सम्मेलनमा एमालेले आगामी दिनमा राष्ट्रियता, स्थायित्व, सुशासन र समृद्धिलाई मुख्य एजेन्डा बनाएर जनतामाँझ जाने संकेत दिएको छ। पार्टी नेतृत्वले ओलीको अनुभव, अडान र राष्ट्रहितप्रतिको प्रतिबद्धताले मुलुकलाई स्थिर र समुन्नत दिशातर्फ लैजान सक्ने दाबी गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button