एप्स्टिन फाइलमा नेपाल: मुस्ताङ राजासम्मको नाम सार्वजनिक

काठमाडौं। अमेरिकी न्याय विभागले कुख्यात यौन अपराधी जेफ्री एप्स्टिनसँग सम्बन्धित ३० लाखभन्दा बढी पृष्ठका कागजात सार्वजनिक गरेपछि विश्वभर हलचल मच्चिएको छ। यस फाइलमा भारत, अमेरिका, बेलायत, इजरायल र अन्य देशका राजनीतिज्ञ, व्यवसायी र सार्वजनिक व्यक्तित्वको नाम छ। नेपालसँग सम्बन्धित विवरण पनि सार्वजनिक भएपछि ध्यान केन्द्रित भएको छ।
एप्स्टिन फाइलमा नेपालका मुस्ताङी राजाको प्रसङ्ग, नेपाली हस्तकला र तिब्बती गलैंचा कारोबार, साथै २०१५ को महाभूकम्पपछिका राहत प्रयास सम्बन्धी विवरण उल्लेख छ। अमेरिकी अरबपति थोमस प्रिट्ज्करले एप्स्टिनलाई पठाएको एक इमेलमा मुस्ताङका राजासँगको मित्रता उल्लेख छ। अर्काे दस्तावेजमा तिब्बती गलैंचा करिब ५१ हजार अमेरिकी डलरमा किनबेच भएको र नेपालका हस्तकला व्यवसायीले एप्स्टिनलाई बिक्रीका लागि प्रस्तुत गरेको विवरण देखिन्छ।
फाइलले देखाउँछ कि एप्स्टिनले नेपालसँग सम्बन्धित परियोजनाहरूमा चासो राख्थे। उदाहरणका लागि, सेकेन्ड रेस्पोन्स संस्था मार्फत २५ हजार अमेरिकी डलर दानको माध्यमबाट नेपालमा राहत सहयोग गरिएको उल्लेख छ। त्यस्तै, चेक गणतन्त्रकी मोडल पेट्रा नेम्कोभाले भूकम्पपछिका बालबालिकाको सहयोगको लागि एप्स्टिनलाई अनुरोध गरेको पत्र पनि फाइलमा समावेश छ।
नेपालसँग सम्बन्धित यी विवरणले देखाउँछ कि एप्स्टिनको सञ्जाल विश्वव्यापी मात्र नभई नेपालको सामाजिक र सांस्कृतिक क्षेत्रसम्म पनि पुगेको थियो। यस फाइलले नेपालको हस्तकला, राजा र राहत कार्यहरू विश्वसामु उजागर गरेको छ, जसले ऐतिहासिक र कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिन्छ।





