केपी ओलीको निर्वाचन र जेन–जीबारे प्रधानमन्त्री कार्कीसँग छलफल

काठमाडौँ। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग जेन–जी आन्दोलनको घटनाबारे गठित आयोगको प्रगतिमा चासो राखेका छन्।
बिहीबार बिहान प्रधानमन्त्री कार्कीलाई भेट्दा ओलीले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचन, मतदान सुरक्षा र नागरिक सुरक्षासँग सम्बन्धित विषयमा समेत ध्यानाकर्षण गराएका थिए। उनले निर्वाचनस्थलदेखि सर्वसाधारणको सुरक्षा र निर्वाचनमा धाँधली हुनसक्ने जोखिमप्रति प्रधानमन्त्रीको ध्यान तान्दै आवश्यक कदम चाल्न सुझाव दिएका छन्।
प्रधानमन्त्री कार्कीले जवाफमा बुधबारदेखि ८० हजार सेना सुरक्षाका लागि खटाइएको र अब निर्वाचनमा सुरक्षा व्यवस्थामा कुनै कमजोरी नहुने भएकाले ढुक्क भएर निर्वाचनमा लाग्न आग्रह गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, ओलीसँग एमाले नेता विष्णु रिमाल पनि बालुवाटार पुगेका थिए।
साथै, प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा हिउँपातका कारण निर्वाचन अवरुद्ध भएमा दोस्रो चरणमा मतदान गर्न सकिने बताएकी छन्। उनले निर्वाचन पूर्ण रूपमा भयरहित र निष्पक्ष हुने प्रतिवद्धता पनि व्यक्त गरेकी छन्।





