सह-महामन्त्री शाहले राप्रपाबाट दिए राजिनामा

काठमाडौं, – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सह-महामन्त्री सौरेन्द्र बहादुर शाहले आफू राप्रपाको सबै पद र सदस्यताबाट राजिनामा दिएको आज सार्वजनिक गरेका छन्।
निजी सोशल मिडिया मार्फत यो घोषणा गर्दै शाहले गएको साढे तीन वर्षदेखि साथ र सहयोग गर्ने सबै नेताकार्यकर्तालाई हृदयदेखि धन्यवाद ज्ञापन गरे। र, उनले दलभित्र नेतृत्व तहमा रहेको विरोधाभास र चरित्रले गर्दा आफूले आफ्नो ठाउँ बनाउन असम्भव अनुभव गरेको बताए।

“मेरो लागि सबैभन्दा माथि देश र जनता हुन्,” उनले भने, “राष्ट्रको अगाडि पार्टी गौण हो। म सदा देश र राष्ट्रको हितमा इमान्दारीपूर्वक कार्य गर्ने छु।”
राप्रपामा हजारौं इमान्दार नेता तथा कार्यकर्ता रहे तापनि नेतृत्व तहको विरोधाभासमा निष्ठावान कार्यकर्ताको लागि ठाउँ सीमित रहेको उनको टिप्पणीले राजनीतिक दलहरूभित्र रहेको आन्तरिक चुनौतीबारे प्रश्न उठाएको छ।
राजिनामाको कारण र भविष्यका योजनाबारे उनले अहिले अतिरिक्त टिप्पणी गरेका छैनन्। उनको यो निर्णयले राजनीतिक क्षेत्रमा चासो र चर्चा बढाएको छ।





