दिउँसो पक्राउ, साँझै दुई सहरमा मसाल जुलुस: व्यवसायी दुर्गा प्रसाईंको रिहाइ माग गर्दै विरोध

काठमाडौं/वीरगञ्ज। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिउँसो पक्राउ गरिएपछि साँझदेखि नै काठमाडौं र वीरगञ्जमा उनको रिहाइको माग गर्दै मसाल जुलुस निकालिएको छ। प्रहरीले दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट प्रसाईंलाई नियन्त्रणमा लिई साइबर ब्यूरो पुर्याएको थियो।
प्रसाईंले राजसंस्था पुनर्स्थापनाको मागसहित निर्वाचन बहिष्कारको घोषणा गरेका थिए। उनले आज बिहान भिडिओ सन्देश जारी गरी भोलि वीरगञ्जमा जुलुस निकाल्ने तयारी भइरहेको जानकारी दिएका थिए। तर, त्यसअघि नै उनी प्रहरीको नियन्त्रणमा परेका हुन्।
यसको प्रतिक्रिया स्वरुप साँझ काठमाडौंको तीलगंगा पुल नजिक र वीरगञ्जमा मसाल जुलुस निकालिएको हो। वीरगञ्जको सडक केहीबेर जाम भएको बताइन्छ।
गत सोमबार प्रसाईं समूहले चितवनमा जुलुस निकाल्दा लफडा भएको थियो र त्यसक्रममा तीन जना पक्राउ परेका थिए। प्रसाईंले अघिल्लो दिन काठमाडौंस्थित परिसर बाहिर चर्काे बयान दिएका थिए।





