अमेरिका–नेपाल आर्थिक सम्बन्ध: पर्यटन र आईसीटीमा सहकार्य बढाउने सहमति

काठमाडौं। नेपाल र अमेरिकाबीच आर्थिक सम्बन्ध अझ प्रगाढ बनाई साझा समृद्धिको यात्रा अगाडि बढाउने उद्देश्यले अमेरिकी दूतावासको आर्थिक टोलीले नेपाल–यूएसए चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (नुसाकी)को नेतृत्वसँग भेटवार्ता सम्पन्न गरेको छ।
गत बुधबार भएको कार्यक्रममा उच्च सम्भावनाका क्षेत्रहरू जस्तै पर्यटन र सूचना तथा सञ्चार प्रविधि (आईसीटी)मा केन्द्रित छलफल भयो। दुवै पक्षबीच भविष्यमा जानकारी सत्र, साझेदारी र संयुक्त अभियानहरू मार्फत सहकार्यलाई गहिराउने मार्गहरू पनि खोजिएको छ।
अमेरिकी दूतावासले यस भेटवार्तालाई द्विपक्षीय आर्थिक सम्बन्धहरू टिकाउ र मजबूत बनाउने प्रयासको अभिन्न अंग बताएको छ। उनीहरूले नेपालमा अमेरिकी लगानी, व्यापार र आर्थिक अवसरहरू बढाउन चाहन्छन् भने नेपाली पक्षले पनि प्रविधि हस्तान्तरण, क्षमता विकास र बजार पहुँच जस्ता क्षेत्रहरूमा सहयोग अपेक्षा गरेको छ।
नुसाकी नेपालले यस अवसरलाई दुवै देशका व्यवसायीहरूका लागि फाइदाजनक बनाउन आवश्यक रणनीतिहरू छलफल गरेकाे थियाे। पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय मानक अनुकूल बनाउने, आईसीटी क्षेत्रमा नेपाली युवाहरूको क्षमता र अमेरिकी बजारसँग जोड्ने जस्ता विषयहरूमा गहिरिएर विचार विमर्श भएको थियो।
दूतावासको आर्थिक टोलीले नेपालमा व्यापारिक वातावरण सुधार्न र नीतिगत समर्थन जुटाउन पनि आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। यस अन्तरक्रियाबाट आगामी दिनमा द्विपक्षीय आर्थिक सहयोगका ठोस कार्ययोजना अगाडि बढ्ने अपेक्षा गरिएको छ।





