सीमा सुरक्षा बैठकमै ढलेर सशस्त्र प्रहरी एसपी राजेश घिमिरेको निधन

झापा / मोरङको विराटचोकमा आयोजित नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ। डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला शुक्रबार दिउँसो उनी अचानक बेहोस भएर ढलेका थिए।

बैठकमा सहभागी भइरहेकै अवस्थामा ढलेपछि उनलाई तत्काल मोरङकै बुढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्। अस्पतालका अनुसार उच्च रक्तचापका कारण उनको अवस्था अचानक गम्भीर बनेको थियो। बेहोस भएर ढल्ने क्रममा उनको जिब्रो समेत काटिएको थियो।

स्वास्थ्य अवस्था झन् बिग्रिँदै गएपछि सघन उपचार कक्षमा भेन्टिलेटरको सहायता समेत लिइएको थियो। तर, चिकित्सकको प्रयास सफल हुन सकेन। हाल उनको शव अस्पतालको आकस्मिक कक्षमा राखिएको छ र आफन्त तथा परिवारका सदस्यलाई जानकारी गराइसकिएको अस्पतालले जनाएको छ।

सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेले घटनाको पुष्टि गर्दै बैठककै बीचमा घिमिरे अचानक ढलेको र तत्काल उपचारका लागि अस्पताल लगिए पनि ज्यान जोगाउन नसकिएको बताए।

घिमिरे हालै नम्बर ३ बाहिनी गढीमाई मुख्यालय, मकवानपुरमा सरुवा भइसकेका थिए र शनिबार त्यता जाने तयारीमा थिए। तर, मोरङबाट बिदा हुनुअघि नै सेवा अवधिमै उनको अकालमै निधन भएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button