रुस-युक्रेन युद्ध अन्त्यतर्फकाे संकेत? ट्रम्पको दाबी: ‘वार्ता निकै सकारात्मक छ’

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध समाधानतर्फ केही महत्वपूर्ण विकास हुन सक्ने संकेत दिएका छन्। युद्ध चौथो वर्षतर्फ उन्मुख भइरहेका बेला अमेरिकाले दुवै पक्षसँग “निकै राम्रो” वार्ता गरिरहेको ट्रम्पको दाबी छ।
एयर फोर्स वानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, “हामी रुस र युक्रेन दुवैसँग निकै सकारात्मक वार्ता गरिरहेका छौँ। केही हुन सक्ने अवस्था देखिँदैछ।” यद्यपि, उनले वार्ताको विषयवस्तु वा सम्भावित निष्कर्षबारे थप विवरण भने खुलाएका छैनन्।
यसैबीच, अमेरिकाको मध्यस्थतामा रुस र युक्रेनबीच अबुधाबीमा सम्पन्न दोस्रो चरणको वार्ता बिहीबार टुंगिएको छ। उक्त वार्तामा दुवै पक्ष ठूलो संख्यामा युद्धबन्दी साटासाट गर्न सहमत भए पनि भू–भागीय व्यवस्था जस्ता मुख्य र जटिल विषयमा ठोस सहमति भने जुट्न सकेन।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि वार्ताप्रति आशा व्यक्त गर्दै आगामी चरणको शान्ति वार्ता “छिट्टै, सम्भवतः संयुक्त राज्य अमेरिकामै” हुने बताएका छन्। उनका अनुसार, अमेरिकासहित रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच पुनः संवादको तयारी भइरहेको छ।
युद्ध लम्बिँदै जाँदा अन्तर्राष्ट्रिय दबाब बढिरहेका बेला ट्रम्पको यो अभिव्यक्तिलाई कूटनीतिक प्रयासमा नयाँ आशाको संकेतका रूपमा हेरिएको छ।





