भारत–मलेसिया सहकार्य नयाँ उचाइमा : व्यापक रणनीतिक साझेदारी थप सुदृढ

काठमाडौं। भारत र मलेसियाबीचको द्विपक्षीय सम्बन्धले नयाँ गति लिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमबीच आज सम्पन्न उच्चस्तरीय भेटवार्तामा दुवै देशका नेताले भारत–मलेसिया समग्र रणनीतिक साझेदारीलाई अझ गहिरो र प्रभावकारी बनाउने सहमति जनाएका छन्।
भेटवार्ताका क्रममा नेताहरूले द्विपक्षीय सम्बन्धको सम्पूर्ण आयामको समिक्षा गर्दै व्यापार, लगानी, सेमिकन्डक्टर, रक्षा तथा सुरक्षा, सामुद्रिक सहकार्य, ऊर्जा र नवीकरणीय ऊर्जा, पर्यटन, सांस्कृतिक आदान–प्रदान, डिजिटल तथा उदाउँदै गरेका प्रविधिजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दुवै पक्षले बदलिँदो विश्व परिवेशमा आपसी विश्वास र साझेदारीलाई थप मजबुत बनाउने आवश्यकता औंल्याएका छन्।

यस अवसरमा सुरक्षा सहकार्य, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन, सेमिकन्डक्टर, स्वास्थ्य तथा चिकित्सा, विपद व्यवस्थापन, भ्रष्टाचारविरुद्धको सहकार्य, अडियो–भिजुअल सह–उत्पादन, व्यावसायिक शिक्षा तथा भारतिय श्रमिकहरूको सामाजिक सुरक्षा सम्बन्धी महत्वपूर्ण द्विपक्षीय समझदारीपत्रहरू आदान–प्रदान गरिएका छन्। यी दस्तावेजहरूले दुई देशबीच संस्थागत सहकार्यलाई नयाँ दिशा दिने विश्वास लिइएको छ।
प्रधानमन्त्री मोदीले मलेसियाको युनिभर्सिटी मलायामा ‘थिरुवल्लुवर केन्द्र’ स्थापना गर्ने र ‘थिरुवल्लुवर छात्रवृत्ति’ सञ्चालन गर्ने घोषणा पनि गरेका छन्। उक्त केन्द्र र छात्रवृत्तिले महान दार्शनिक तथा कवि थिरुवल्लुवरका शिक्षाहरूको प्रचार–प्रसारमा योगदान पुर्याउनुका साथै जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने अर्को महत्वपूर्ण कदमस्वरूप भारतले मलेसियामा आफ्नो पहिलो वाणिज्यदूतावास (कन्सुलेट) खोल्ने घोषणा गरेको छ। यसले जनस्तरीय सम्पर्क, व्यापारिक गतिविधि तथा कूटनीतिक सहकार्यलाई अझ सहज बनाउने विश्वास गरिएको छ।
समग्र कनेक्टिभिटी पहलअन्तर्गत भारतको एनआईपीएल (NIPL) र मलेसियाको पेनेट (PayNet) बीच सहकार्य गरी यूपीआई मार्फत द्विपक्षीय भुक्तानी प्रणाली स्थापना गर्ने सहमति भएको छ। यस कदमले पर्यटन, शिक्षा र व्यवसायमा संलग्न दुवै देशका नागरिकका लागि कम लागतमा सहज र सुरक्षित भुक्तानी तथा रेमिट्यान्स सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
यसैबीच, मलेसियाले ‘अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स’मा आबद्ध हुन आवश्यक सबै प्रक्रिया पूरा गरेको छ। साथै भारत–मलेसिया १०औँ सीईओ फोरमको प्रतिवेदन पनि दुवै प्रधानमन्त्री समक्ष प्रस्तुत गरिएको छ, जसले निजी क्षेत्रबीचको सहकार्यलाई थप विस्तार गर्ने मार्गचित्र प्रस्तुत गरेको छ।
यी सबै पहलहरूले भारत–मलेसिया सम्बन्धलाई केवल कूटनीतिक तहमा सीमित नराखी आर्थिक, सांस्कृतिक र जनस्तरमा पनि नयाँ उचाइमा पुर्याउने संकेत गरेका छन्।





