भुमजाइथाइ पार्टीको विजय, नयाँ सरकार गठनको तयारी

काठमाडौं । थाइल्याण्डको प्रतिनिधिसभा निर्वाचनमा भुमजाइथाइ पार्टीले विजय हासिल गरेको घोषणा गर्दै दलका नेता तथा प्रतिनिधि प्रधानमन्त्री अनुतिन चार्नभिराकुलले यो सबै जनताको विजय हो भनेका छन्।
देशको निर्वाचन आयोगले ८७ प्रतिशतभन्दा बढी मतपत्र गणना गरेको अवस्थामा भुमजाइथाइ पार्टी निर्वाचनमा अग्रणी रहेको छ। दोस्रो स्थानमा पिपल्स पार्टी र तेस्रो स्थानमा फ्यू थाइ पार्टी रहेका छन्।
यसभन्दा अगाडि पिपल्स पार्टीका नेता नत्थापोङ रुङ्पन्यावुतले पनि आफ्नो पार्टीले नतिजा स्वीकार गर्दै प्रतिस्पर्धी गठबन्धन बनाउने छैन भनेका छन्। उनले भुमजाइथाइ पार्टीले सरकार बनाएमा पिपल्स पार्टी विपक्षी दलको रूपमा काम गर्न तयार रहेको बताए।
थाइल्याण्डको डेमोक्र्याट पार्टीका नेता अभिसित भेज्जाजिवाले पनि आफ्नो दल विपक्षमा रहने तयारी रहेको बताएका छन्।
फ्यू थाइ पार्टीका नेता जुलापुन अमोरन्विवतले जनताको छनोटलाई सम्मान गर्दै सत्तारूढ वा विपक्षी जुनसुकै भूमिकामा रहे पनि जनताको लागि राम्रो काम गर्न पूरा प्रयास गर्ने बताएका छन्।





