बहुध्रुवीय विश्वतर्फ रूसको स्पष्ट संकेत: लाभरोभकाे BRICS, युरेसिया र विश्व शक्ति सन्तुलनबारे धारणा

मस्को, — रूसका परराष्ट्रमन्त्री सेर्गेई लाभरोभले अन्तर्राष्ट्रिय मिडिया नेटवर्क टीभी ब्रिक्सलाई दिएको अन्तर्वार्तामा विश्व राजनीतिमा भइरहेको गहिरो रूपान्तरण, बहुध्रुवीय विश्व व्यवस्थाको उदय, BRICS को भूमिका, युरेसियाली सहकार्य र रूसको सुरक्षा प्राथमिकताबारे स्पष्ट र दृढ धारणा प्रस्तुत गरेका छन्।
अन्तर्वार्तामा मन्त्री लाभरोभले अहिलेको विश्व व्यवस्था न त शीतयुद्धकालीन सोभियत–अमेरिकी द्विध्रुवीय संरचना हो, न त सोभियत संघ विघटनपछिको एकध्रुवीय प्रणाली नै भएको उल्लेख गरे। उनका अनुसार विश्व पहिले नै बहुध्रुवीय युगतर्फ प्रवेश गरिसकेको छ, जहाँ तीव्र आर्थिक वृद्धि, शक्ति, वित्तीय प्रभाव र राजनीतिक प्रभावका अनेक केन्द्रहरू उदाएका छन्। उनले भने, विश्व प्रतिस्पर्धा मार्फत पुनःसंरचित भइरहेको छ, तर पश्चिमी शक्तिहरू आफ्नो पुरानो वर्चस्व त्याग्न अनिच्छुक देखिन्छन्।
लाभरोभले रूसले आफ्ना साझेदार राष्ट्रहरूसँग दीर्घकालीन रणनीतिमा आधारित सहकार्य विस्तार गरिरहेको स्पष्ट पारे। व्यापार, लगानी, विज्ञान तथा प्रविधि, र संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय मञ्चहरूमा समन्वित गतिविधिका लागि प्रत्येक साझेदार देशअनुसार कार्ययोजना बनाइएको उनले बताए। यस क्रममा राष्ट्रमण्डल (CIS), युरेसियाली आर्थिक संघ (EAEU), सामूहिक सुरक्षा सन्धि संगठन (CSTO) र समग्र पोस्ट–सोभियत क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको उनको भनाइ थियो। यस्ता प्रयासहरूले रूस र साझेदार राष्ट्रहरू दुवैलाई ठोस लाभ प्रदान गरिरहेको उनले जोड दिए।
रूसको सुरक्षा सम्बन्धी धारणा प्रस्तुत गर्दै लाभरोभले युक्रेनको अवस्थालाई गम्भीर रूपमा उठाएका छन्। उनका अनुसार पश्चिमी समर्थनमा रूसको सीमामा स्थापित ‘नाजी आधार’ले रूसको सुरक्षालाई प्रत्यक्ष चुनौती दिएको छ। रूसले आफ्नो सुरक्षा सुनिश्चित गर्न युक्रेनी भूमिमा आफूलाई लक्षित कुनै पनि हतियार तैनाथ हुन नदिने र क्रिमिया, डोनबास तथा नोभोरोसियामा शताब्दीयौँदेखि बसोबास गर्दै आएका रुसी तथा रुसी भाषी जनताको अधिकारको पूर्ण संरक्षण गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
BRICS अध्यक्षता गरेको २०२४ साललाई स्मरण गर्दै लाभरोभले कजानमा सम्पन्न शिखर सम्मेलन र त्यसपछि कार्यान्वयनमा आएका पहलहरू उल्लेख गरे। वैकल्पिक भुक्तानी प्रणाली, राष्ट्रिय मुद्रामा कारोबार, पुनःबीमा संरचना, अन्न विनिमय केन्द्र र नयाँ लगानी प्लेटफर्मजस्ता पहलहरू कसैको विरोधका लागि नभई पश्चिमी एकपक्षीय नियन्त्रण र दबाबबाट स्वतन्त्र आर्थिक संरचना निर्माणका लागि गरिएको उनले स्पष्ट पारे। अमेरिका लगायत पश्चिमी देशहरूसँग संवाद नछोडिने तर आपसी लाभमा आधारित सहकार्यमा मात्र रुचि रहने उनको भनाइ थियो।
अन्तर्वार्तामा ‘ग्रेटर युरेसियन पार्टनरसिप’ अवधारणालाई पनि विशेष महत्व दिइएको छ। सन २०१५ मा रूस–आसियान शिखर सम्मेलनका क्रममा राष्ट्रपति भ्लादिमिर पुटिनले प्रस्ताव गरेको यो अवधारणा युरेसिया विश्वकै सबैभन्दा ठूलो, धनी र तीव्र रूपमा विकासोन्मुख महादेश बन्दै गएको यथार्थमा आधारित रहेको लाभरोभले बताए। चिनियाँ, भारतीय, अरब, फारसी र रुसी सभ्यताहरूको उद्गम र निरन्तरताले युरेसियालाई विश्व सभ्यताको केन्द्र बनाएको उनको धारणा थियो।
यसै सन्दर्भमा, सन २०२४ मा राष्ट्रपति पुटिनद्वारा अघि सारिएको साझा युरेसियाली सुरक्षा संरचना निर्माणको पहलले अन्तर्राष्ट्रिय स्तरमा बढ्दो समर्थन पाउँदै गएको लाभरोभले उल्लेख गरे। उनका अनुसार, बहुध्रुवीय विश्वको यथार्थलाई स्वीकार गर्दै समानता, आपसी सम्मान र साझा सुरक्षामा आधारित नयाँ अन्तर्राष्ट्रिय संरचनातर्फ विश्व अघि बढिरहेको छ।





