ताइवानबारे जापानी टिप्पणीप्रति चीनको कडा आपत्ति, गलत भनाइ सच्याउन टोकियोसँग आग्रह

बेइजिङ — चीनले ताइवान सम्बन्धी जापानी प्रधानमन्त्री सानाए ताकाइचीले दिएको अभिव्यक्तिलाई लिएर कडा आपत्ति जनाएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयले सोमबार जापानलाई उक्त “गलत टिप्पणी” तत्काल फिर्ता लिन र चीन–जापान सम्बन्धको राजनीतिक आधार जोगाउन ठोस व्यवहारिक कदम मार्फत आधारभूत इमान्दारी देखाउन आग्रह गरेको छ।
नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले जापानको सत्तारूढ गठबन्धन लिबरल डेमोक्रेटिक पार्टी र जापान इनोभेसन पार्टीले आइतबार सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा दुई तिहाइभन्दा बढी बहुमत हासिल गरेपछि यो धारणा सार्वजनिक गरेका हुन्।
प्रवक्ता लिनले जापानको निर्वाचन प्रक्रिया पूर्ण रूपमा आन्तरिक विषय भएको स्पष्ट गर्दै त्यसमा चीनको कुनै टिप्पणी नरहेको बताए। तर उनले यस निर्वाचनले जापानी राजनीतिमा देखिएका केही गहिरा, संरचनागत समस्या र वैचारिक प्रवृत्तिहरू उजागर गरेको उल्लेख गरे। ती प्रवृत्तिहरू जापानभित्रका विवेकशील व्यक्तिहरू मात्र होइन, अन्तर्राष्ट्रिय समुदायका लागि पनि गम्भीर विचारणीय विषय भएको उनको भनाइ थियो।
चीनले ताइवान चीनको अभिन्न अंग भएको आफ्नो अडान दोहोर्याउँदै यस विषयमा कुनै पनि बाह्य हस्तक्षेप वा गलत संकेतले क्षेत्रीय स्थिरता र द्विपक्षीय सम्बन्धलाई गम्भीर क्षति पुर्याउने चेतावनी दिएको छ। चीन–जापान सम्बन्धको आधार आपसी सम्मान, इतिहासप्रतिको जिम्मेवारी र एक चीन नीतिप्रतिको प्रतिबद्धतामा टिकेको उल्लेख गर्दै बेइजिङले टोकियोसँग शब्दभन्दा व्यवहारमा इमान्दारी देखाउन पुनः आग्रह गरेको छ।





