बहुध्रुवीय विश्वतर्फको दृढ कूटनीति: रुसका विदेशमन्त्री लाभरोभको कूटनीतिक दिवस सन्देश

मस्काे / रुसका विदेशमन्त्री सर्गेइ भिक्टरोभिच लाभरोभले कूटनीतिक सेवाका कर्मचारी दिवस (१० फेब्रुअरी २०२६) का अवसरमा भिडियो सन्देश जारी गर्दै रुसको कूटनीतिक परम्परा, राष्ट्रिय मूल्य र समसामयिक विश्व राजनीतिमा रुसको भूमिकालाई सशक्त ढंगले प्रस्तुत गरेका छन्। उनले देशभित्र र विदेशमा कार्यरत सम्पूर्ण रुसी कूटनीतिज्ञहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।
लाभरोभले रुसको कूटनीतिक इतिहास शताब्दीऔँ लामो रहेको उल्लेख गर्दै यो इतिहासले रुसी राज्यसत्ताको सुदृढीकरणका विभिन्न चरणहरू प्रतिबिम्बित गर्ने बताए। समय र युग बदलिँदै गए पनि रुसका आध्यात्मिक र नैतिक मूल्यहरू अटल रहेको उनको भनाइ थियो। मातृभूमिप्रतिको निस्वार्थ प्रेम, सत्य र न्यायका आदर्शप्रति दृढ प्रतिबद्धता नै रुसी कूटनीतिक सेवाको मूल आत्मा भएको उनले स्पष्ट पारे।
उनले विगतका महान कूटनीतिज्ञहरूको योगदानप्रति गर्व व्यक्त गर्दै दोस्रो विश्वयुद्धका कठिन घडीमा विदेशी मामिला जनआयुक्तालयका कर्मचारीहरूले हातमा हतियार लिएर मातृभूमिको रक्षा गरेको साहसलाई सम्मानका साथ स्मरण गरे। त्यही अमर परम्परालाई आजका विदेश मन्त्रालय तथा मातहतका संस्थाका कर्मचारीहरूले निरन्तरता दिइरहेको भन्दै, विशेष सैन्य अभियानमा संलग्न कूटनीतिक कर्मचारीहरूको योगदानलाई पनि उनले उच्च मूल्याङ्कन गरे।
विदेशमन्त्री लाभरोभले मोर्चामा रहेका सैनिक तथा उनीहरूका परिवारलाई सहयोग पुर्याउने, साथै युक्रेनी नव–नाजी गतिविधिबाट पीडित नागरिकहरूलाई मानवीय सहायता उपलब्ध गराउने कार्यमा मन्त्रालयका अन्य कर्मचारीहरू पनि सक्रिय रहेको जानकारी दिए। उनका अनुसार, यस्तो एकजुटता र जिम्मेवारीबोधले राष्ट्रिय मनोबल थप बलियो बनाएको छ।
विश्व इतिहासको अर्को मोडमा उभिएको वर्तमान सन्दर्भमा रुसी कूटनीतिले देशको आन्तरिक विकास, नागरिकको जीवनस्तर सुधार र सुरक्षित बाह्य वातावरण सुनिश्चित गर्न निरन्तर प्रयास गरिरहेको उनले बताए। रुसको सन्तुलित र निरन्तर विदेश नीति विश्व रूपान्तरणको दिशालाई प्रभाव पार्दै नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको निर्माणमा योगदान पुर्याइरहेको उनको दाबी थियो।
लाभरोभले आपसी समझदारी, विश्वास र सद्भावनामा आधारित इमानदार तथा समान अन्तर्राष्ट्रिय सहकार्यप्रति रुस प्रतिबद्ध रहेको स्पष्ट गरे। राष्ट्रपति भ्लादिमिर पुटिनको पहलमा युरेशियन क्षेत्रमा समान र अविभाज्य सुरक्षा संरचना निर्माण तथा व्यावहारिक सहकार्य विस्तारमा काम भइरहेको उल्लेख गर्दै, बेलारुससँग सुरक्षा ग्यारेन्टीसम्बन्धी सम्झौता र उत्तर कोरिया तथा इरानसँगको सर्वसमावेशी रणनीतिक साझेदारीलाई विशेष उपलब्धिका रूपमा प्रस्तुत गरे।
उनले चीन, भारतलगायत विश्व बहुमतका राष्ट्रहरूसँग सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखिएको बताए। साथै ओडिकेबे, ईएइयू, सिआइएस, एससिओ र ब्रिक्सजस्ता बहुपक्षीय संरचनामार्फत रणनीतिक साझेदारी र सहयोगलाई थप गहिरो बनाइँदै गएको उल्लेख गरे। एकपक्षीय प्रतिबन्धदेखि सैन्य हस्तक्षेपसम्मका नव–औपनिवेशिक अभ्यासको विरोधमा रुस दृढ रहेको भन्दै, भेनेजुएला र क्युबाका जनतासँग ऐक्यबद्धता व्यक्त गरे।
देशको नेतृत्व र समाजले कूटनीतिक सेवाबाट उच्च अनुशासन, समर्पण र सिर्जनशील दृष्टिकोण अपेक्षा गरेको उल्लेख गर्दै लाभरोभले सबै कूटनीतिज्ञहरूलाई राष्ट्रहितमा इमानदारीपूर्वक काम गर्न आह्वान गरे। उनले अनुभवी पूर्वकूटनीतिज्ञहरूको योगदानप्रति विशेष कृतज्ञता व्यक्त गर्दै, आज पनि उनीहरूको अनुभव र मार्गदर्शन कूटनीतिक सेवाका लागि प्रेरणाको स्रोत रहेको बताए।
सन्देशको अन्त्यमा विदेशमन्त्री लाभरोभले कूटनीतिज्ञका परिवारजनप्रति पनि धन्यवाद व्यक्त गरे। टाढा–टाढा मातृभूमिबाट बाहिर बसेर सेवा गर्ने कर्मचारीका लागि परिवारको समर्थन झन् महत्वपूर्ण हुने उनको भनाइ थियो। उनले सबैलाई सुस्वास्थ्य, समृद्धि र राष्ट्रसेवामा नयाँ सफलता कामना गर्दै कूटनीतिक दिवसको पुनः शुभकामना दिए।





