विज्ञान–प्रविधिमा आत्मनिर्भरता नै आधुनिक समाजवादी चीन निर्माणको निर्णायक

बेइजिङ / चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी जिनपिङले विज्ञान र प्रविधिमा आत्मनिर्भरता तथा सुदृढ क्षमताको विकास नै चीनलाई आधुनिक, शक्तिशाली समाजवादी राष्ट्रमा रूपान्तरण गर्ने निर्णायक आधार भएको स्पष्ट पारेका छन्। उनले यसलाई राष्ट्र निर्माणको “मुख्य चाबी” का रूपमा व्याख्या गर्दै दीर्घकालीन रणनीतिक लक्ष्य हासिल गर्न विज्ञान–प्रविधिमा निर्णायक फड्को आवश्यक रहेको बताएका हुन्।

सोमबार बेइजिङस्थित राष्ट्रिय सूचना प्रविधि नवप्रवर्तन पार्कको अवलोकनका क्रममा महासचिव सीले उक्त धारणा राखेका हुन्। उनले चीनले बाह्य निर्भरता घटाउँदै आफ्नै क्षमतामा आधारित वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनका अनुसार, विश्वस्तरीय प्रतिस्पर्धाको युगमा प्रविधिक आत्मनिर्भरता राष्ट्रिय सुरक्षा, आर्थिक स्थायित्व र विकासको आधारस्तम्भ हो।

महासचिव सीले प्रमुख राष्ट्रिय परियोजनाहरूका लागि शक्ति केन्द्रित गर्न, उपलब्ध उत्कृष्ट स्रोत र प्रतिभालाई एकीकृत गर्न तथा रणनीतिक महत्त्वका क्षेत्रमा निर्णायक उपलब्धि हासिल गर्न तीव्र गतिमा अघि बढ्न निर्देशन दिए। साथै, प्रविधिक विकासमा देखिएका कमजोरी र अवरोधलाई छिटो पहिचान गरी समाधानतर्फ उन्मुख हुनुपर्ने उनको भनाइ थियो।

उनले सूचना प्रविधि, डिजिटल पूर्वाधार, उच्चस्तरीय अनुसन्धान र नवप्रवर्तन प्रणालीको सुदृढीकरण मार्फत चीनको दीर्घकालीन रणनीतिक उद्देश्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे। सी जिनपिङका अनुसार, विज्ञान र प्रविधिमा आत्मबल र निरन्तर नवप्रवर्तनले मात्र चीनलाई आधुनिक समाजवादी राष्ट्रको उचाइमा पुर्‍याउन सक्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button