एपस्टिन फाइलले अमेरिकन सत्ता हल्लिरहेकै बेला ‘अगाडि बढौँ’ भन्ने ट्रम्पको आग्रह, कंग्रेस र पीडितको असन्तोष जारी

वाशिङ्टन — विश्वकै सबैभन्दा कुख्यात यौन अपराध प्रकरण मध्ये एक मानिने जेफ्री एपस्टिन सम्बन्धी लाखौँ गोप्य फाइल सार्वजनिक भइसकेपछि पनि अमेरिकी राजनीति शान्त हुने संकेत देखिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशले अब यो विषयबाट “अगाडि बढ्नुपर्ने” अभिव्यक्ति दिए पनि कंग्रेस, पीडितहरू र विश्लेषकहरू भने अझै धेरै प्रश्नको उत्तर बाँकी रहेको बताउँदै दबाब बढाइरहेका छन्।
अमेरिकी न्याय विभाग (डीओजे) ले पछिल्ला महिनाहरूमा एपस्टिन प्रकरणसँग सम्बन्धित करोडौँ कागजात सार्वजनिक गरेको छ। सन् २०१९ मा संघीय यौन तस्करी अभियोगमा पक्राउ परेका एपस्टिनको मुद्दा अदालतमा पुग्नुअघि नै जेलमै मृत्यु भएको थियो, जसले यो प्रकरणलाई झन रहस्यमय बनाएको छ।
ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “अब देशले सायद अरू विषयतर्फ ध्यान दिनुपर्ने समय आएको छ।” तर उनको यो भनाइसँगै राजनीतिक बहस थप चर्किएको छ।
बिहीबार रिपब्लिकन नेतृत्वको सिनेटले अल्पमत नेता चक शूमरको प्रस्ताव अस्वीकार गर्यो, जसमा ट्रम्प प्रशासनले एपस्टिन फाइल सार्वजनिक गर्ने प्रक्रियामा कानुन उल्लंघन गरेको आरोप लगाउँदै मुद्दा दायर गर्न माग गरिएको थियो। शूमरले गत वर्ष कंग्रेसले पारित गरेको कानुन अनुसार डीओजेले एपस्टिन सम्बन्धी सबै सामग्री सार्वजनिक गर्नुपर्ने भए पनि त्यसको पूर्ण पालना नभएको दाबी गरे।
उनले सार्वजनिक रूपमा प्रश्न उठाए, “के सह–षड्यन्त्रकारी सम्बन्धी सबै मेमो सार्वजनिक भएका छन्? के ट्रम्प नाम उल्लेख भएका सबै कागजात बाहिर आएका छन्?” उनका अनुसार अझै पनि महत्त्वपूर्ण सामग्री लुकाइएका छन्।
यद्यपि उप–महान्यायाधिवक्ता टोड ब्लान्चले कंग्रेसले नोभेम्बरमा पारित गरेको कानुन अनुसार फाइलको समीक्षा प्रक्रिया सकिएको र नयाँ अभियोजनका लागि कुनै आधार नरहेको दाबी गरे। “धेरै इमेल, पत्राचार र तस्बिर छन्,” उनले भने, “तर त्यसैले मात्र कसैलाई अभियोजन गर्न सकिँदैन।”
यसबीच प्रतिनिधि सभाले भने छुट्टै अनुसन्धान अघि बढाइरहेको छ। रिपब्लिकनहरूले पूर्व राष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई कंग्रेसमा उपस्थित हुन चेतावनी दिएपछि उनीहरूलाई यसै महिनाको अन्त्यतिर बयानका लागि बोलाउने तयारी गरिएको छ। बिल क्लिन्टनले एपस्टिनसँग परिचय भएको स्वीकार गरे पनि यौन अपराधबारे आफू अनभिज्ञ रहेको र दुई दशक अघि नै सम्पर्क तोडेको दाबी गरेका छन्।
ब्रुकिङ्स इन्स्टिच्युसनका वरिष्ठ अध्येता डारेल वेस्टका अनुसार अमेरिकी समाज यो विषयबाट सजिलै अघि बढ्ने अवस्थामा छैन। “अहिलेसम्म धेरै प्रश्न अनुत्तरित छन्,” उनले भने, “सबैभन्दा ठूलो प्रश्न दोषी को हुन् र फाइलमा नाम आएका व्यक्तिहरूको के हुन्छ भन्ने हो।” उनका अनुसार प्रशासनले थप अनुसन्धान र अभियोग नलगाउने भने पनि प्रकरणको गम्भीरताले त्यो निर्णयप्रति शंका पैदा गरिरहेको छ।
फाइलहरूमा पूर्व राष्ट्रपति बिल क्लिन्टन, माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र राष्ट्रपति ट्रम्पजस्ता प्रभावशाली व्यक्तिहरूको नाम उल्लेख भए पनि कसैलाई पनि कानुनी रूपमा दोषी ठहर गरिएको छैन।
एपस्टिनकी पीडित लिसा फिलिप्सले बीबीसीसँग कुरा गर्दै आफूहरू न्याय विभागको कदमबाट सन्तुष्ट नभएको बताइन्। “हाम्रा तीनवटै माग उल्लंघन गरियो,” उनले भनिन्, “धेरै कागजात अझै सार्वजनिक भएका छैनन्, तोकिएको मिति नाघिसकेको छ, र पीडितहरूको नाम सार्वजनिक गर्नु बिल्कुलै गलत हो। हामीमाथि खेल खेलिँदैछ, तर हामी लडाइँ रोकिने छैन।”
डेमोक्र्याटहरूले यस वर्षको मध्यावधि निर्वाचनपछि प्रतिनिधि सभामा बहुमत आए ट्रम्प र अन्य रिपब्लिकन नेताहरूलाई एपस्टिन फाइलबारे बयानका लागि समन जारी गर्ने चेतावनी दिएका छन्।
मेरिल्याण्ड विश्वविद्यालय अन्तर्गतको अन्तर्राष्ट्रिय तथा सुरक्षा अध्ययन केन्द्रका अनुसन्धानकर्ता क्ले राम्सेका अनुसार यो विषयबाट देश सजिलै अघि बढ्ने छैन। “जनचासो कहिले घट्छ, फेरि बढ्छ, यो क्रम चलिरहन्छ,” उनले भने।
विश्लेषकहरूको साझा निष्कर्ष छ कि प्रशासनले प्रकरण बन्द गर्न चाहे पनि एपस्टिन फाइल अमेरिकी राजनीति र समाजमा अझै लामो समयसम्म बहसको केन्द्रमै रहनेछ।





