चीनले प्रवासी व्यवसायका लागि बहुपक्षीय एकीकृत सेवा प्लेटफर्म सार्वजनिक गर्यो

बेईजिङ / चीनले बुधबार आफ्नो राष्ट्रिय बहुपक्षीय प्रवासी सेवा (National Comprehensive Overseas Service) को आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ। नयाँ प्लेटफर्मले कानुन, कर, वित्त, वैदेशिक सम्बन्ध, व्यापार, ढुवानी, भन्सार र व्यापार प्रवर्द्धन सम्बन्धी स्रोतहरू एकीकृत गर्दै प्रवासी व्यवसाय र परियोजनाहरूलाई समग्र सहयोग उपलब्ध गराउने लक्ष्य राखेको छ।
यस प्लेटफर्मले सरकारका विभिन्न विभागहरू, उद्योग संघहरू, सेवा प्रदायकहरू, विदेशी राष्ट्रमा रहेका चिनियाँ दूतावास तथा कन्सुलेटहरू साथै १०० भन्दा बढी विदेशी लगानी प्रवर्द्धन एजेन्सीहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्नेछ।
चीनका करिब ५२,००० प्रवासी कम्पनी, लाखौं विदेशी व्यापार फर्महरू र हजारौं विदेशी परियोजना ठेक्का तथा श्रम सहकार्य गर्ने कम्पनीहरूले यस सेवाबाट प्रत्यक्ष लाभ उठाउन सक्ने अपेक्षा गरिएको छ।
यस प्लेटफर्मको सुरुवात अक्टोबर २०२५ मा जारी गरिएको स्टेट काउन्सिलको दिशानिर्देश अनुसार गरिएको हो। सो दिशानिर्देशले पुरानो “गाेइङ ग्लोबल” सार्वजनिक सेवा प्लेटफर्मलाई आधुनिकीकरण गर्ने आवश्यकता औँल्याएको थियो। २०१५ मा सुरु भएको उक्त पुरानो प्लेटफर्ममा ४८ करोड भ्रमणहरू भइसकेका थिए।
चीनको वाणिज्य मन्त्रालयका अनुसार, नयाँ प्लेटफर्मले कम्पनीहरूको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न, प्रवासी व्यापारलाई नियमन गर्न र तिनीहरूको वैध अधिकार तथा हितको सुरक्षा गर्न केन्द्रित सेवा प्रदान गर्नेछ। मन्त्रालयले सम्बन्धित पक्षहरूसँग सहकार्य गर्दै प्लेटफर्मलाई निरन्तर सुधार गर्ने प्रतिबद्धता जनाएको छ।





