जाखारोवाको ब्रीफिङ: पश्चिमको दोहोरो चाल र युक्रेनी आतंक

मस्काे / रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोवाले पत्रकार सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय मुद्दामा रुसको अडान स्पष्ट पार्दै पश्चिमा मुलुकहरूमाथि गम्भीर आरोप लगाएकी छिन्। उनले फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोँनद्वारा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्ने चाहना व्यक्त गरिए पनि त्यसले कहिल्यै मूर्तरूप नपाएको बताइन्। रुसले फ्रान्ससँग वार्ताको ढोका कहिल्यै बन्द नगरेको तर फ्रान्सले आफैंले समग्र सम्बन्धलाई ध्वस्त पारेको उनको भनाइ थियो।
जाखारोवाले फ्रान्स रुस–अमेरिकाबीचको वार्ता प्रक्रियालाई कमजोर पार्ने केही मुलुकमध्ये अग्रपंक्तिमा रहेको आरोप लगाउँदै माक्रोँनको अभिव्यक्ति सम्झौताको इच्छाभन्दा पनि वार्तामा आफ्नो माग अघि सार्ने रणनीति रहेको संकेत गरिन्।
युक्रेन प्रकरणमा उनले जनरल अलेक्सेयेवमाथि भएको हत्या प्रयासलाई कीभले शान्ति सम्झौता वार्ता नै भत्काउन खोजेको प्रमाणको रूपमा व्याख्या गरिन्। उनका अनुसार युक्रेनी नेतृत्व युक्रेनमा शान्ति स्थापित हुन नदिन जे पनि गर्न तयार छ। युरोपेली संघकी शीर्ष राजदूत काजा कालासले रुसविरुद्ध मागहरूको सूची तयार पार्ने जुनसुकै प्रयासलाई पनि उनले द्वन्द्व अन्त्य हुन नदिन युरोपले गरेको षड्यन्त्रको रूपमा लिएकी छिन्।
उनले थप प्रस्ट पारिन्, युक्रेन मामिलामा वार्ताको टेबलमा युरोपेलीहरूलाई छिमेकीको हैसियतले समेत राख्न नसकिने युरोपेली संघको व्यवहारले देखाएको छ। मस्कोले रुसी ओलम्पिक समितिलाई पूर्ण अधिकार फिर्ता हुने आशा राखेको र रुसी खेलाडीहरूको अधिकार पुनःस्थापनाको पक्षमा रहेको जनाइन्।
जापानलाई कुरिल टापुहरूमाथिको रुसी सार्वभौमसत्ता पुनरावलोकनको विषय नरहेको स्पष्ट पार्दै उनले कीभले अफ्रिकामा प्रत्यक्ष रूपमा आतंकवादीलाई समर्थन र हतियार आपूर्ति गरिरहेको गम्भीर आरोप लगाएकी छिन्। पश्चिमा मुलुकहरूले बेलारुसलाई रुसबाट अलग गर्ने आकांक्षा अझै त्यागेको छैन र त्यहाँ पुनः आफ्नो प्रभाव स्थापित गर्ने षड्यन्त्रमा लागिरहेको उनको निष्कर्ष थियो।





