भाषा चुनौती हो, असम्भव होइन : चिनियाँ प्राध्यापक झान शुनको नेपाली सिनेमाप्रति मूल्याङ्कन र सहकार्यका बाटाे

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को जुरी सदस्यको रूपमा काठमाडौं आएकी चिनियाँ प्राध्यापक झान शुनले नेपाली सिनेमाको अवस्था, संस्कृति र दुई देशबीचको सम्भावित सहकार्यबारे विस्तृत धारणा राखेकी छन्। चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी पत्रकारिता तथा सञ्चार विभाग प्रमुख, प्राध्यापक तथा मिडिया विशेषज्ञ झान नयाँ मिडिया, अन्तर्राष्ट्रिय सञ्चार र अन्तरसंस्कृति अध्ययनमा दखल राख्छिन्। नेपाली मिडियासँगको कुराकानीमा उनले नेपाली फिल्म, संस्कृति र भविष्यको सहकार्यका बाटाबारे आफ्ना विचार प्रस्तुत गरेकी छन्।
प्राध्यापक झानले निफलाई ‘एकदमै पेशेवर संस्था’ भन्दै आयोजकको व्यवहार प्रशंसायोग्य रहेको बताइन्। ‘सबैलाई समान व्यवहार गरेका छन्, विशेष गरी विदेशी निर्देशक, निर्माता र फिल्मकर्मीलाई पनि बराबरी सम्मान दिएका छन्, जुन निकै महत्वपूर्ण कुरा हो,’ उनले भनिन्। ठूलो पर्दामा फिल्म हेर्ने अनुभवको महत्त्वबारे उनले भनिन्, ‘अहिले युवापुस्ता मोबाइलमा भिडियो हेर्न रुचाउँछन्, तर ठूलो स्क्रिन, साउन्ड सिस्टम र दृश्य-श्रव्य अनुभवले दिने भावनात्मक प्रभाव मोबाइलभन्दा धेरै फरक हुन्छ।’
नेपाली फिल्मबारे उनले भनिन्, ‘साँचो कुरा भन्नुपर्दा, मैले नेपाली फिल्मबारे अझै धेरै अध्ययन गर्न बाँकी छ। पहिलो प्रभावका आधारमा भन्नुपर्दा नेपाली फिल्ममा नाच–गानको मात्रा धेरै देखिन्छ, जुन भारतीय फिल्मसँग मिल्दोजुल्दो लाग्छ। चिनियाँ फिल्ममा भने यस्तो कम हुन्छ। तर मलाई यहाँका फिल्ममा एक किसिमको खुसीपन र जीवन्तता देखिन्छ, जुन मलाई मन पर्छ। यहाँका फिल्मकर्मीलाई देख्दा लाग्छ, उनीहरू सिक्दै अगाडि बढिरहेका छन्, जसले भविष्य राम्रो बनाउने संकेत दिन्छ।’
उनले संस्कृति आदानप्रदानका बाटा खोल्दै भनिन्, ‘फिल्मको दृश्य, भाषा र ध्वनि प्रणालीबाटै संस्कृति झल्किन्छ। नेपाली भाषाको उच्चारण, संगीत र कथा भन्ने शैली चिनियाँ वा अंग्रेजीभन्दा फरक छ। तर भावनाको स्तरमा भने सबै ठाउँमा समानता हुन्छ। बिछोड, माया, मृत्युजस्ता विषय सबैले समान रूपमा महसुस गर्छन्।’ कथावस्तुलाई उनले सबैभन्दा महत्वपूर्ण मान्छिन्। ‘कथा राम्रो भए भाषा नबुझे पनि दर्शकले बुझ्न सक्छन्। कथा कसरी भनिन्छ भन्ने कुरा अझ महत्वपूर्ण छ,’ उनले भनिन्।
नेपाल–चीन सहकार्यको सम्भावनाबारे प्राध्यापक झान निकै आशावादी देखिइन्। ‘नेपाल र चीन हिमाली क्षेत्रमा रहेका देश हुन्, र धेरै सांस्कृतिक समानता छन्। प्रार्थना झण्डा, बौद्ध संस्कृति, ऐतिहासिक सम्पर्क आदि विषयमा आधारित कथाहरू दुवै देशका दर्शकले सहजै बुझ्न सक्छन्,’ उनले भनिन्। सहकार्यको पहिलो चरण सह-लेखन हुनुपर्ने, त्यसपछि संयुक्त छायांकन र दुवै देशका कलाकार, लोकेशन र अनुभव जोड्नुपर्ने उनको सुझाव छ।
प्राध्यापक झानले भाषालाई ठूलो चुनौती मानेकी छन् तर असम्भव होइन। ‘दुवै देशका सरकारले सहकार्य बढाउन पहल गर्नुपर्छ। नीतिगत रूपमा सहयोग भएमा बजारमा प्रवेश सजिलो हुन्छ,’ उनले भनिन्। सामाजिक सञ्जाललाई सबैभन्दा प्रभावकारी माध्यम मान्दै उनले अंग्रेजी सबटाइटल वा एआई अनुवादले भाषा बाधा हटाउन सक्ने बताइन्। ‘नेपालसँग हिमाल, पर्यटन र प्रकृतिसम्बन्धी धेरै कथा छन्। यस्ता विषयमा वृत्तचित्र र फिल्म बनाएर विश्वभर दर्शक आकर्षित गर्न सकिन्छ,’ उनले सुझाव दिइन्।
उनले नेपाली फिल्मकर्मीलाई तिब्बतजस्ता विषयमा पनि कथा बनाउन प्रोत्साहित गरिन्। ‘संयुक्त अनुसन्धान निकै जरुरी हुन्छ। लेखकले कथा लेख्नुअघि दुवै देशको संस्कृति, इतिहास र पृष्ठभूमिबारे अध्ययन गर्नुपर्छ,’ उनले भनिन्। दुवै देशका विश्वविद्यालय वा अनुसन्धान संस्थामार्फत साना कार्यक्रम सुरु गर्नुपर्ने र लेखक, निर्देशक, प्राध्यापकलाई एकै ठाउँमा ल्याएर तालिम र आदानप्रदान गर्नुपर्ने उनको प्रस्ताव छ।
‘म निकै आशावादी छु। हामीले प्रयास गर्यौं भने सहकार्य अझ बलियो हुन्छ,’ उनले भनिन्। ‘सबैभन्दा महत्वपूर्ण कुरा कथा र भावना हो। प्राविधिक पक्ष पनि महत्वपूर्ण हुन्छ, तर केवल प्रविधिले मात्र राम्रो फिल्म बन्दैन।’ नेपालको यात्राबारे भावुक हुँदै उनले भनिन्, ‘यहाँका मानिसहरू, उनीहरूको आत्मीयता, संस्कृति सबै मन पर्छ। उनीहरूले घरमै बोलाएर खाना खुवाए, जुन मेरो लागि निकै भावुक अनुभव थियो। मलाई यहाँको मुस्कान, निलो आकाश, पहाड, प्रकृति सबै मन पर्छ। नेपाल साँच्चै सुन्दर छ।’ यी शब्दहरूले नेपालको संस्कृति र यहाँका मानिसप्रति चिनियाँ प्राध्यापकको मनमा गहिरो ठाउँ बनाएको छ। नेपाली सिनेमाको भविष्यका लागि उनको सुझाव एउटा रोडम्यापजस्तै छ – सहकार्य, संवाद, संयुक्त अनुसन्धान र आपसी सम्मान। अब यो यात्रा कहाँ पुग्छ भन्ने प्रश्नको जवाफ चाहिँ आगामी दिनले दिनेछ।





