८३ वर्षीय बुवाको बलिदान: देशका लागि नाजी सेनालाई धोका दिँदा आफैं भए शहीद

काठमाडौं — उमेरले ८३ वर्ष, शरीरले साथ दिँदैन तर मनमा देशप्रतिको माया र दुश्मनप्रतिको घृणा यति प्रबल कि आफ्नै जीवन बलिदान दिएर पनि उनले शत्रुलाई सबक सिकाए, त्यो इतिहासका पानामा अमर भएको छ, रुसी सन्तानले गर्व गर्ने एउटा अध्यायको रूपमा।

सन् १९४२ फेब्रुअरी १४ तारिख। दोस्रो विश्वयुद्धको भीषण समय। रुसको प्स्कोभ प्रान्तअन्तर्गत भेलिकिये लुकी जिल्लाको कुराकिनो गाउँमा जन्मिएका ८३ वर्षीय म्याट्भे कुज्मिनले त्यो दिन आफ्नो नाम इतिहासमा सुनौला अक्षरले लेखाए।

युद्ध सुरु हुँदा म्याट्भे कुज्मिन आफ्नो क्षेत्रका जान्नेसुन्ने व्यक्ति थिए। वरपरका जङ्गल र बाटोहरू उनको हातको सेरोजस्तो। तिनै बाटोहरू उनको जीवनको अन्तिम यात्राको साक्षी बन्नेछन् भन्ने उनलाई थाहा थिएन।

फेब्रुअरी १३ का दिन गाउँमा तैनाथ जर्मन सेनाको एउटा बटालियनले रुसी सेनाको पछाडिको भागमा पुग्ने योजना बनायो। उनीहरूलाई चाहियो, एउटा बाटो देखाउने मानिस। उनीहरूको नजरमा परे, ८३ वर्षीय वृद्ध म्याट्भे।

बटालियन कमान्डरले उनलाई जबरजस्ती बाटो देखाउन लगायो, पेर्शिनो गाउँसम्म पुर्याउन, जहाँ रुसी सेना तैनाथ थियो। म्याट्भेले सहमति जनाए, तर उनको मनमा अर्कै योजना थियो।

उनले आफ्नो छोरा भासिलीलाई गोप्य रूपमा रुसी सेनाकहाँ पठाए। सन्देश थियो, “म जर्मन सेनालाई अर्को बाटो हुँदै लैजाँदै छु, तपाईंहरू माल्किनो गाउँ नजिकै घाट लगाएर बस्नुहोस्।”

फेब्रुअरी १४ को रात। म्याट्भेले जर्मन टुकडीलाई गोलचक्कर बाटो हुँदै लैजान थाले। जानाजानी ढिलो गरी हिंडाए। उनीहरू माल्किनो गाउँ नजिक पुग्दा बिहान भइसकेको थियो।

त्यहीँ थियो, रुसी ३१ औं अलग क्याडेट राइफल ब्रिगेडको घाट। एकाएक गोली वर्षा भयो। अचानक आक्रमणमा परेको जर्मन बटालियन तहसनहस भयो। अधिकांश सैनिक मारिए, बाँकी कैद भए।

आफू ठगिएको थाहा पाएपछि जर्मन सैनिकहरूको आक्रोश चरममा पुग्यो। उनीहरूले त्यहीँ म्याट्भे कुज्मिनलाई गोली हानी हत्या गरे। आफ्नो कर्तव्य पूरा गरेर उनी आफैं पनि शहीद भए, तर दुश्मनलाई सबक सिकाएर।

म्याट्भे कुज्मिनको यो वीरताको कथा जनजिब्रोमा झुण्डियो। साथीहरूले, समकालीनहरूले उनको साहसको मुक्तकण्ठले प्रशंसा गरे। सन् १९६५ मे ९ मा विजय दिवसका दिन उनलाई मरणोपरान्त ‘सोभियत संघको नायक’ उपाधि प्रदान गरियो। यो सम्मान पाउने उनी इतिहासकै सबैभन्दा उमेर पुगेका व्यक्ति बने।

आज पनि मस्कोको पार्टिजान्स्काया मेट्रो स्टेसनमा उनको सालिक छ, जसमा लेखिएको छ, “सोभियत संघका नायक म्याट्भे कुज्मिच कुज्मिन।” त्यहाँ अर्को सालिक जोया कोस्मोडेमियान्स्कायाको छ, दुई पक्षपाती नायक, दुई अमर कथा।

रुसी भूमिका धेरै नायक छन्, तर ८३ वर्षीय एक बुवाको यो कथा जसले दुश्मनलाई बाटो देखाउने बहानामा आफैं मृत्युको मुखमा परे तर देशलाई जिताए, त्यो सदियौंसम्म अमर रहनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button