२६ चैत्र २०८२, बिहीबार

डी गाउँको मैदानमा प्रथम गाेल्डकप, ब्रोदर्स एफसीका अध्यक्षद्वारा पच्चीस हजार सहयोग

खजुरा, बाँके । खजुरा गाउँपालिका वार्ड नं. ४ स्थित डी गाउँको मिनी रङ्गशालामा पहिलो पटक आयोजना हुन लागेको ‘खजुरा गोल्ड कप २०८२’ लाई भव्य र सभ्य बनाउन स्थानीय युवा तथा खेलप्रेमीहरूबीच एकताको सन्देश प्रवाह भएको छ। प्रतिस्पर्धाको नभई सहकार्यको भावनालाई मूर्त रूप दिँदै ब्रोदर्स एफ.सी., खजुरा-४ का अध्यक्ष तथा Elante Export & Import Pvt. Ltd. का प्रबन्धक विवेक सागर पौडेलले प्रतियोगिताका लागि नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गरेका छन्।

न्यू डाँफे स्पोर्ट्स क्लबले आयोजना गरेको यस प्रतियोगितालाई क्षेत्रकै प्रतिष्ठाको विषय मान्दै ब्रोदर्स एफ.सी. परिवारले आर्थिक सहयोगको घोषणा मात्र गरेको छैन, भौतिक रूपमा पनि खेल मैदान निर्माण तथा व्यवस्थापनमा अहोरात्र खटिरहेको छ। क्लबका पदाधिकारी, सदस्य तथा खेलाडीहरू मैदानमै पसिना बगाएर ‘एक क्षेत्र, एक थलो’ को सन्देश दिइरहेका छन्।

सहयोग रकम हस्तान्तरणकाे अवसर पारेर ब्रोदर्स एफ.सी. परिवारले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यस ऐतिहासिक क्षणलाई सफल बनाउन सहयोग पुर्याउनुहुने अध्यक्ष विवेक सागर पौडेलज्यूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। आगामी दिनमा पनि यस्तै साथ र समर्थनको खाँचो सम्पूर्ण खेलाडी दाजुभाइलाई रहनेछ। हजुरको यस लगनशीलताले अन्य व्यक्तित्वमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएका छौं।”

अध्यक्ष विवेक सागर पौडेलले यस सहयोगलाई प्रतिस्पर्धाको रूपमा नभई हातेमालोको प्रतीकको रूपमा अर्थ्याएका छन्। उनले भने, “गोल्डकपको आयोजना न्यू डाँफे स्पोर्ट्स क्लबले गरेको भए पनि यो समग्र बाँकेको गौरव र प्रतिष्ठाको विषय हो। हामीले सहयोगी भावनाका साथ हातेमालो गर्दै यसलाई सफलताको शिखरमा पुर्याउनुपर्छ। न्यू डाँफे यस क्षेत्रकै जेठो क्लब हो, यसको सफलतामा ब्रोदर्स एफ.सी. परिवार हरेक पल सक्रिय रहनेछ।”

पौडेलले एकता, भातृत्व र सहअस्तित्वको भावनाले मात्र समग्र क्षेत्रको खेलकुद विकास र उत्थान सम्भव रहेको बताउँदै श्रमदान र सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य तथा खेलाडीहरूलाई धन्यवाद दिएका छन्। स्थानीय स्तरमा देखिएको यो एकताले आगामी प्रतियोगिता भव्यताका साथ सम्पन्न हुनेमा खेलप्रेमीहरू ढुक्क भएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button