१४ कार्तिक २०८३, शुक्रबार

मिडिया हाउसमा प्रहरीको धरपकड : तीन पत्रकार पक्राउ, थप तीनको खोजी

ड्रागन मिडिया सम्वाददाता

शुक्रबार प्रहरीले काठमाडौँका विभिन्न सञ्चारमाध्यमका कार्यालयमा पुगेर पत्रकारहरूलाई नियन्त्रणमा लिएको छ। तीन पत्रकार पक्राउ परेका छन् भने थप तीन जनाको खोजी भइरहेको छ।

पक्राउ पर्नेमा नेपाल प्रेस डटकमका विश्वमणि सुवेदी, डीएनए खबरका प्रधानसम्पादक धीरज बस्नेत र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराल छन्। प्रहरीले दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मा, सम्पादक रिता बुढाथोकी र नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको खोजी गरिरहेको छ।

सादा पोसाकका प्रहरीले नेपाल प्रेसको बानेश्वरस्थित कार्यालयबाट सुवेदीलाई पक्राउ गरी साइबर ब्युरोमा बुझाएका थिए। प्रहरीले साइबर ब्युरोको पत्रका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ। तर उनीमाथि लागेको आरोप र पक्राउको कानुनी आधारबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।

डीएनए खबरका प्रधानसम्पादक बस्नेतका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट उनलाई सुरुमा ईसेवा नम्बरसम्बन्धी विषयमा बुझ्नुपर्ने भन्दै फोन आएको थियो। सामान्य सोधपुछका लागि बोलाइएको ठानेर प्रहरी कार्यालय पुगेका उनलाई त्यहीँ नियन्त्रणमा लिइएको उनले बताए। बस्नेतले आफू र शोभराज बराललाई कुन कसुरमा नियन्त्रणमा लिइएको हो भन्ने स्पष्ट नभएको बताएका छन्।

प्रहरी टोली अनामनगरस्थित दियोपोस्टको कार्यालयमा पुगेर विश्वकर्मा र बुढाथोकीको खोजी गरेको थियो। दियोपोस्टका समाचार संयोजक मदन ढुंगानाका अनुसार प्रहरी कार्यालय परिसरमा प्रवेश गरेको थियो। कार्यालयमा रहेका पत्रकारका मोबाइल फोन नियन्त्रणमा लिएर जाँच गरिएको जानकारी आफूले पाएको उनले बताए। बुढाथोकीका अनुसार यसअघि उनलाई र विश्वकर्मालाई फोन गरेर ठेगाना सोधिएको थियो।

प्रहरी नयाँ पत्रिकाको समाचार कक्षमा पनि पुगेर मैनालीको खोजी गरेको थियो। एकै दिन विभिन्न सञ्चारमाध्यममा प्रहरी पुगे पनि यी घटनाहरू आपसमा सम्बन्धित छन् वा अलग-अलग अनुसन्धानसँग जोडिएका हुन् भन्ने खुलेको छैन। प्रहरीले पत्रकारहरूमाथि अनुसन्धान गर्न खोजिएको विषय, उनीहरूविरुद्ध उजुरी परेको वा नपरेको र पक्राउको आधारबारे स्पष्ट विवरण दिएको छैन।

पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी मोबाइल जाँच गर्ने घटनाले पत्रकारको गोपनीयता, समाचार स्रोतको संरक्षण र प्रेस स्वतन्त्रताबारे प्रश्न उठाएको छ। नेपाल पत्रकार महासंघले धरपकडप्रति आपत्ति जनाएको छ।

नेपाली कांग्रेसका नेता नैनसिंह महरले सञ्चारमाध्यमको कार्यालयमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिनु प्रेसलाई तर्साउने प्रयास भएको भन्दै विरोध गरेका छन्। लोकतन्त्रविरुद्धका यस्ता नियोजित कार्य निन्दनीय रहेको उनको भनाइ छ।

जेनजी पत्रकार फोरम नेपालले पनि पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यमका कार्यालयमा पुगेर खोजी गर्ने प्रहरी गतिविधि रोक्न माग गरेको छ। समाचारप्रति चित्त नबुझे खण्डन वा कानुनी उपचारको बाटो अपनाउन सकिने भन्दै फोरमले समाचारकै विषयमा प्रहरी परिचालन गरी पत्रकारलाई पक्राउ गर्नु र कार्यालयमै खोजी गर्नु स्वीकार्य नहुने जनाएको छ। पत्रकारलाई पक्राउको कारण बताउने र कानुन व्यवसायीसँग परामर्श गर्न दिने संवैधानिक अधिकारको पालना गर्न पनि फोरमले आग्रह गरेको छ।

यसअघि बिहीबार प्रहरी प्रधान कार्यालयले प्रहरी नेतृत्वबारे प्रकाशित समाचार र टिप्पणीप्रति आपत्ति जनाउँदै पुष्टि नभएका सूचना सम्प्रेषण गर्नेहरूमाथि अनुसन्धान र कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको थियो। शुक्रबार भएका धरपकड उक्त चेतावनीसँग सम्बन्धित हुन् वा अलग अनुसन्धानका क्रममा भएका हुन् भन्ने प्रहरीले स्पष्ट पारेको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button