१४ कार्तिक २०८३, शुक्रबार

पत्रकार पक्राउबारे प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

ड्रागन मिडिया सम्वाददाता

प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी सादा पोसाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको र पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। शुक्रबार कार्यालय समय सकिएपछि जारी विज्ञप्तिमा काउन्सिलले पक्राउको कारण स्पष्ट नगरिएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमति लिइएको नदेखिएको जनाएको छ।

लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर चिन्ताको विषय भएको काउन्सिलको भनाइ छ। प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएका यी घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षाबारे गम्भीर प्रश्न उठाएको काउन्सिलले उल्लेख गरेको छ।

सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति असहमति भए वा आचारसंहितासम्बन्धी उजुरी परे त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको भएको विज्ञप्तिमा भनिएको छ। समाचारकै विषयमा प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन र सम्बन्धित सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ।

काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न माग गरेको छ। कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए उनीहरूलाई तुरुन्त रिहा गर्न पनि काउन्सिलले आग्रह गरेको छ। साथै पत्रकार र सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित रहेर पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ।

प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको प्रवर्द्धनका लागि काउन्सिल सधैँ प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति काउन्सिलका प्रवक्ता तथा वरिष्ठ प्रशासनिक अधिकृत दीपक खनालले जारी गरेका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button