समाचारको स्रोत नखोलेपछि प्रधानसम्पादकले जिम्मेवारी लिए, पत्रकार सुवेदी रिहा

ड्रागन मिडिया सम्वाददाता
नेपाल प्रेसको समाचार कक्षबाट पक्राउ गरिएका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले रिहा गरेको छ। नेपाल प्रेसका अनुसार साइबर ब्युरोले उनलाई शुक्रबार साँझ केहीबेरअघि छाडेको हो।
नेपाल प्रेसमा प्रकाशित समाचारको स्रोत खुलाउन दबाब दिँदै प्रहरीले सुवेदीलाई पक्राउ गरेको संस्थाले जनाएको छ। यसै विषयमा नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई पनि ब्युरोमा बोलाएर सोधपुछ गरिएको थियो।
प्रधानसम्पादक पौडेलले समाचारको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएपछि सुवेदीलाई रिहा गर्न प्रहरी तयार भएको नेपाल प्रेसले जनाएको छ। पौडेलले समाचारको स्रोत भने खुलाउन अस्वीकार गरेका छन्।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहा गर्न र समाचार कक्षमा प्रवेश गरी धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले बताएकी थिइन्।





