सात दशकमा पनि पूर्णता’ नपाएको कान्ति लोकपथ
हेटौंडा–काठमाडौं छोटो बाटो अझै साढे चार किलोमिटर अलपत्र

काठमाडौं । तत्कालीन श्री ५ महाराजाधिराजको नाम जोडिएको, नेपाली सेनाले पहिलोपटक सडक निर्माणको अनुभव बटुलेको र राजधानी जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक मार्ग, यी तीनवटै विशेषता बोकेको कान्ति लोकपथ निर्माण सुरु भएको सात दशक पुग्न लाग्दा पनि अधुरै छ। हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने यो लोकपथले पूर्णता पाउन अझै कम्तीमा दुई वर्ष कुर्नुपर्ने देखिएको छ।
त्रिभुवन राजपथ (काठमाडौं–वीरगन्ज) को विकल्पका रूपमा विसं २०१३ सालमा ट्रयाक खोलेर सुरु गरिएको ७९ किलोमिटर लम्बाइको यो सडक आयोजना मुलुककै पुरानो र सबैभन्दा लामो समयदेखि अलपत्र आयोजनामध्ये एक हो। सात दशकको अवधिमा यस लोकपथको जम्मा ७१ प्रतिशत काम मात्र सम्पन्न भएको कान्ति लोकपथ आयोजनाका सूचना अधिकारी उपेन्द्र महरानले जानकारी दिए।
“नेपाली सेनाले २०१३ देखि २०१६ सालसम्म यसको ट्रयाक खोलेको थियो। तर, आर्थिक वर्ष २०६४/६५ देखि मात्र नेपाल सरकारले यसलाई प्राथमिकतामा राखेर निर्माण अघि बढायो,”। बजेटको चरम अभाव र भौगोलिक विकटता नै यो आयोजनाले लामो समयसम्म गति लिन नसक्नुको प्रमुख कारण हो। आर्थिक वर्ष २०६४/६५ देखि हालसम्म यस लोकपथको निर्माणमा ८ अर्ब ४० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।
यद्यपि, अहिले आएर भने यो आयोजनाले केही आशाको सञ्चार गरेको छ। ७९ किलोमिटरमध्ये अब जम्मा साढे चार किलोमिटर खण्डमा मात्र कालोपत्र गर्न बाँकी रहेको र सो स्थानमा हाल एक लेनको मात्र सडक रहेको बताइएकाे छ। उक्त बाँकी खण्डमा चट्टानी पहाड काटेर दुई लेनको स्तरोन्नति गर्नुपर्ने भएकाले दूरी छोटो भए पनि काम सम्पन्न गर्न समय लागिरहेको भनाइ छ। हाल यस आयोजनाअन्तर्गत रेटिङवाल, कटिङ, ढल निर्माण तथा कालोपत्रका लागि ८ वटा ठेक्का सञ्चालनमा छन् र निर्माण कम्पनीहरूले धमाधम काम गरिरहेका छन्।
चालु आर्थिक वर्षमा ठेक्काको कुल दायित्व १ अर्ब ५० करोड रुपैयाँ रहेकोमा सरकारले जम्मा ४७ करोड रुपैयाँ मात्र विनियोजन गरेको छ। बजेटको यो अन्तरले पनि कामको गतिमा असर पार्ने देखिन्छ। तथापि, आयोजनाले आगामी आर्थिक वर्ष २०८३/८४ भित्र सम्पूर्ण काम सम्पन्न गर्ने महत्त्वाकांक्षी लक्ष्य लिएको छ।
ललितपुरको टीकाभैरवदेखि हेटौंडाको बुद्धचोकसम्मको ७९ किलोमिटर सडक यस आयोजनाले हेर्छ भने टीकाभैरवदेखि सातदोबाटोसम्मको १० किलोमिटर खण्ड उपत्यका सडक विस्तार आयोजनाको जिम्मेवारीमा छ। यस सडकको डिजाइन परिवर्तन गरी हाल टीकाभैरवदेखि ललितपुरको एकान्तकुनासम्म पुर्याइएको छ। यो लोकपथको ३९ किलोमिटर ललितपुर र ४० किलोमिटर मकवानपुर जिल्लामा पर्दछ।
नेपाली सेनाले औपचारिक रूपमा सडक निर्माणको थालनी यही कान्ति लोकपथबाट गरेको थियो। हाल सेनाले तीन दर्जनभन्दा बढी सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ भने पछिल्लो समय काठमाडौं–निजगढ द्रुतमार्गको महत्त्वाकांक्षी जिम्मेवारी पनि सम्हालिरहेको छ। तर, सेनाको पहिलो ‘प्रयोगशाला’ मानिएको यो कान्ति लोकपथले भने अझै पूर्णविराम पाउन सकेको छैन।





