जापानदेखि ब्राजिलसम्म सडकको राज छुने लडाइँ
रियो दि जेनेरियोमा हुने फाइनलसँगै फिबा ३x३ विश्व भ्रमणको घोषणा

काठमाडौं । विश्व बास्केटबल महासङ्घ (फिबा) ले बुधबार १५औं संस्करणको फिबा ३x३ विश्व भ्रमणको भव्य समापन ब्राजिलको रियो दि जेनेरियोमा हुने आधिकारिक घोषणा गरेको छ। आगामी डिसेम्बर १२ र १३ तारिखमा हुने यो फाइनलले विश्वभरका सडक बास्केटबलप्रेमीको ध्यान एकै ठाउँमा तान्ने निश्चित छ।
यो विश्व भ्रमण आगामी अप्रिल २५ र २६ तारिखमा जापानको उत्सुनोमियाबाट सुरु हुनेछ। त्यसपछि यो प्रतियोगिता चारवटा महादेशका विभिन्न सहरी क्षेत्रको यात्रा गर्दै ब्राजिलको प्रतिष्ठित सहर रियोमा पुगेर टुङ्गिनेछ।
फिबा ३x३ का प्रबन्ध निर्देशक एलेक्स सान्चेजले उत्साह व्यक्त गर्दै भनेका छन्, “रियो दि जेनेरियोजस्तो प्रतिष्ठित र आकर्षक गन्तव्यमा अर्को सफल फिबा ३x३ विश्व भ्रमणको वास्तविक शैलीमा समापन गर्न पाउँदा हामी निकै हर्षित छौं।” उनले थपे, “ब्राजिलमा ३x३ बास्केटबलप्रतिको जोश विश्वविख्यात छ र यो संसारकै सबैभन्दा तीव्र अनुभवमध्ये एक हो। त्यसैले यसले अद्भुत उत्सवको माहोल सिर्जना गर्नेछ र यो फिबा ३x३ विश्व भ्रमणलाई अविस्मरणीय बनाउने हामी पहिल्यै अनुमान गर्न सक्छौं।”
ब्राजिलियन बास्केटबल महासङ्घ (सीबीबी) का अध्यक्ष मार्सेलो सौसाले पनि यस आयोजनालाई ऐतिहासिक महत्त्वको रूपमा व्याख्या गरेका छन्। उनले भने, “यो प्रतियोगिता आयोजना गर्न पाउनु भनेको ब्राजिलमा पछिल्ला दशकहरूमा ३x३ बास्केटबलको लागि सबैभन्दा महत्त्वपूर्ण क्षण हो।”
तेव्र गति, सानो कोर्ट र सडक संस्कृतिसँग नजिक रहेको ३x३ बास्केटबलले पछिल्लो समय विश्वव्यापी रूपमा युवापुस्तामाझ लोकप्रियता हासिल गरिरहेको छ। रियोको कोपाकाबाना वा इपानेमा समुद्रतटको पृष्ठभूमिमा हुने यो फाइनलले खेल र पर्यटनको अनुपम सङ्गम प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।





