२६ चैत्र २०८२, बिहीबार

क्याम्प नोउमा रातो कार्डको कहर : बार्सिलोनालाई उसैको घरमा २-० ले धुलो चटाउँदै एट्लेटिकोको सेमिफाइनल यात्रा सहज

काठमाडौं । क्याम्प नोउको पवित्र मैदानमा बुधबार राति एट्लेटिको म्याड्रिडले बार्सिलोनालाई २-० गोलले पराजित गर्दै च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा शानदार जित हात पारेको छ। जुलियन अल्भारेज र अलेक्जान्डर सोर्लोथका गोलसँगै पाउ कुबार्सीको रातो कार्डले बार्साको लय ध्वस्त बनाएपछि डिएगो सिमियोनको टोली सेमिफाइनल प्रवेशको नजिक पुगेको छ।

केही दिनअघि मात्र ला लिगामा बार्सिलोनासँग २-१ ले पराजित भएको एट्लेटिकोले यसपटक भने बदला लिने सङ्केत सुरुदेखि नै देखाएको थियो। क्याम्प नोउमा बार्सिलोनाले आक्रामक सुरुवात गरेको थियो। मार्कस रासफोर्डलाई दुईपटक गोल गर्नबाट एट्लेटिकोका गोलरक्षक ह्वान मुसोले रोके भने अर्कोतर्फ जोन गार्सियाले अल्भारेजको प्रहारलाई बचाए।

बार्सिलोनाले लामिन यामलको पासमा रासफोर्डले गोल गरे पनि अफसाइडको झन्डा उठेपछि क्याम्प नोउको खुसीयाली क्षणभरमै सेलायो। यामल अफसाइड रहेको भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले पुष्टि गरेको थियो।

खेलको निर्णायक मोड : ४२औं मिनेटको रातो कार्ड
पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा खेलको निर्णायक मोड आयो। लामो पासमा दौडिरहेका जुलियानो सिमियोनलाई बार्साका डिफेन्डर पाउ कुबार्सीले मैदानको बाहिरपट्टि लडाए। रेफ्रीले सुरुमा पहेँलो कार्ड देखाए पनि भीएआरको सहयोगमा त्यसलाई रातो कार्डमा परिणत गरे। दश खेलाडीमा सीमित बार्सिलोनालाई अल्भारेजले फ्रिकिकमार्फत सुन्दर गोल गर्दै पहिलो हाफकै अन्तिममा एट्लेटिकोलाई अग्रता दिलाए।

दोस्रो हाफमा बार्साका प्रशिक्षक हान्सी फ्लिकले रोबर्ट लेवान्डोस्की र पेड्रीलाई निकालेर गाभी र फर्मिन लोपेजलाई मैदान प्रवेश गराए। दश खेलाडीमा समेत बार्सिलोनाले आक्रामक खेल जारी राख्यो। रासफोर्डको फ्रिकिक क्रसबारमा लागेर फर्कियो भने डानी ओल्मोको कर्नर प्रहारले पनि गोलको दुरी छोट्याउन सकेन।

खेलको ७०औं मिनेटमा म्याटियो रुग्गेरीले बायाँपट्टिबाट दिएको क्रसमा सोर्लोथले बायाँ खुट्टाले उत्कृष्ट फिनिसिङ गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे। त्यसपछि सिमियोनको टोलीले खेललाई परिपक्व ढङ्गले नियन्त्रणमा राख्यो र बार्सिलोनाको दबाबलाई सहजै थामिदियो।

यो जितसँगै एट्लेटिको म्याड्रिड सेमिफाइनल पुग्ने प्रबल दाबेदार बनेको छ। अब दोस्रो लेग आफ्नो घरेलु मैदानमा खेल्ने एट्लेटिकोका लागि यो अग्रता पर्याप्त सहज देखिन्छ भने बार्सिलोनालाई क्याम्प नोउमै भएको यो हारले निकै गाह्रो बनाइदिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button