उत्तरको ढोका खुल्यो : सीमापार खुलापनको नयाँ अध्याय सुरु
चीनले भित्री मङ्गोलियामा २३औं स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्यो
बेइजिङ । चीनले आफ्नो उच्चस्तरीय खुलापनको नीतिलाई निरन्तरता दिँदै उत्तरी क्षेत्र भित्री मङ्गोलिया स्वायत्त क्षेत्रमा नयाँ स्वतन्त्र व्यापार क्षेत्र (एफटीजेड) स्थापना गरेको छ। योसँगै चीनको पाइलट स्वतन्त्र व्यापार क्षेत्रको सङ्ख्या २३ पुगेको छ। राज्य परिषद्ले बिहीबार सार्वजनिक गरेको योजनाअनुसार नयाँ एफटीजेडलाई व्यापक सुधारको स्वायत्तता प्रदान गरिनेछ र विस्तृत क्षेत्र तथा गहिरो तहमा अग्रणी, एकीकृत र विभेदित अन्वेषणलाई प्रोत्साहन गरिनेछ।
यस योजनाले सीमा व्यापारको नवीन विकास, अन्तर्राष्ट्रिय रसद सेवाको सुदृढीकरण, प्रविधि हस्तान्तरण र प्रयोगको दक्षता अभिवृद्धि तथा बहुक्षेत्रीय बाह्य आदानप्रदान विस्तारलगायत १९ वटा सुधार र नवप्रवर्तनका उपायहरू तोकेको छ।
योजनाअनुसार चीन (भित्री मङ्गोलिया) पाइलट स्वतन्त्र व्यापार क्षेत्रको स्थापना सर्वाङ्गीण सुधारलाई थप गहिरो बनाउने, उच्चस्तरीय खुलापनलाई अघि बढाउने र गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने एउटा महत्त्वपूर्ण रणनीतिक कदम हो।
यो पाइलट एफटीजेडले ११९.७४ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ र यसमा तीन उपक्षेत्रहरू समावेश छन्— स्वायत्त क्षेत्रको राजधानी होहोट, उत्तरी सीमावर्ती सहर मन्झौली र चीन–मङ्गोलिया सीमास्थित भूमि बन्दरगाह एरेनहट। प्रत्येकलाई भिन्नाभिन्नै कार्य र स्थानीय परिस्थितिअनुकूलका उद्योग विकासको जिम्मेवारी दिइएको छ।
भित्री मङ्गोलिया सामाजिक विज्ञान प्रतिष्ठानका बेल्ट एन्ड रोड इनिसिएटिभ अनुसन्धान संस्थानका निर्देशक फान लिजुनले भने, “यो रणनीतिक र समयसापेक्ष कदम हो, जसले चीनको उत्तरी सीमा खुलापनमा रहेको रिक्ततालाई पूर्ति गरेको छ र चीनलाई थप खुला हुन नयाँ सम्भावना सिर्जना गरेको छ।”
योजनाको उद्देश्य पाइलट एफटीजेडलाई सूचना आदानप्रदान, यातायात तथा रसद, कारक स्रोत परिचालन, वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तन र प्रमुख क्षेत्रमा औद्योगिक सहकार्यको केन्द्रका रूपमा विकास गर्नु रहेको छ। यसले स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारलाई जोड्ने र छिमेकी क्षेत्रहरूमा प्रभाव विस्तार गर्ने काम गर्नेछ।
यो एफटीजेडले चीनको उत्तरतर्फको खुलापनको महत्त्वपूर्ण पुलको रूपमा आफ्नो भूमिका पूर्ण रूपमा उपयोग गर्नेछ र लगानी तथा व्यापारमा सहजता, सुदृढ नवप्रवर्तन पारिस्थितिकी प्रणाली, प्रतिस्पर्धी उद्योगहरूको सङ्कुलन र जीवन्त अन्तर्राष्ट्रिय आदानप्रदान भएको उच्चस्तरीय एफटीजेड बन्ने प्रयास गर्नेछ।
सेन्जेनस्थित थिङ्क ट्याङ्क चीन विकास संस्थानका उपाध्यक्ष छु जियानले भने, “संस्थागत नवप्रवर्तनको अगुवाका रूपमा यो एफटीजेडले भित्री मङ्गोलियालाई प्रमुख क्षेत्रहरूमा ‘बरफ तोड्न’ थप अधिकार प्रदान गर्नेछ।”
यसअघि चीनले साङ्घाई, ग्वाङडोङ, लियाओनिङ, हाइनान, सानडोङ र बेइजिङलगायत क्षेत्रमा २२ वटा पाइलट एफटीजेड स्थापना गरिसकेको थियो। यसभन्दा अघिल्लो थप सन् २०२३ मा चीन (सिन्जियाङ) पाइलट स्वतन्त्र व्यापार क्षेत्रको रूपमा भएको थियो।
सन् २०१३ मा साङ्घाईमा पहिलो एफटीजेड स्थापना भएयता चीनका एफटीजेडले संस्थागत नवप्रवर्तनमा उल्लेखनीय नतिजा हासिल गरेका छन्। १४औं पञ्चवर्षीय योजना अवधि (२०२१–२०२५) मा दुई सयभन्दा बढी संस्थागत नवप्रवर्तनहरू सार्वजनिक गरिए भने विदेशी लगानीका लागि नकारात्मक सूचीजस्ता कोशेढुङ्गाका उपायहरूले देशको व्यापार वातावरणलाई थप सहज बनाएको छ।
चीनले आफ्नो पछिल्लो पञ्चवर्षीय खाकामा खुलापनका लागि सुधारिएको क्षेत्रीय योजनामा जोड दिँदै विश्वसामु थप खुला हुने लक्ष्य राखेको छ। १५औं पञ्चवर्षीय योजना (२०२६–२०३०) को रूपरेखाअनुसार चीनले पूर्व–पश्चिम, स्थल र समुद्र जोड्ने सञ्जालमार्फत चौतर्फी खुलापनतर्फ तीव्र गतिमा अघि बढ्नेछ। फानका अनुसार चीन (भित्री मङ्गोलिया) पाइलट स्वतन्त्र व्यापार क्षेत्रको स्थापना रूपरेखामा तोकिएको लक्ष्यसँग पूर्ण रूपमा मेल खान्छ र यसले खुलापनका उपायहरू कार्यान्वयन गर्ने प्रमुख मञ्चको रूपमा काम गर्नेछ।





