९ बैशाख २०८३, बुधबार

भाल्लेकासमा रायोको आँधी : एईके एथेन्समाथि ३–० को शानदार जित

म्याड्रिड (स्पेन) । स्पेनिस क्लब रायो भाल्लेकानोले आफ्नो इतिहासकै दोस्रो युरोपेली प्रतियोगितामा सहभागिता जनाइरहँदा पहिलो युरोपेली सेमिफाइनलतर्फ महत्त्वपूर्ण कदम चालेको छ। बिहीबार भाल्लेकास स्टेडियममा सम्पन्न खेलमा रायोले ग्रीक क्लब एईके एथेन्सलाई ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाएको छ।

खेलको दोस्रो मिनेटमै रायोले अग्रता लिँदै विपक्षीलाई दबाबमा राखेको थियो। अल्भारो रोड्रिगेजले बायाँपट्टिबाट उत्कृष्ट गति भर्दै पेनाल्टी क्षेत्रभित्र पुर्याएको क्रसमा इलियास अखोमाचले सहजै गोल गर्दै घरेलु टोलीलाई सुरुआती बढत दिलाए।

२०औं मिनेटमा फ्लोरियाँ लेज्युनले फ्रिकिकमा हेडरमार्फत गोल गर्दै रायोको अग्रता दोब्बर पारेको ठानिएको थियो। तर, भिएआर समीक्षापछि उनाइ लोपेज अफसाइड रहेको र उनले एईकेका गोलरक्षक थोमस स्ट्राकोसालाई अवरोध पुर्याएको ठहर गर्दै गोल अस्वीकार गरियो।

यसपछि एईकेले खेलमा फर्किने प्रयास गर्यो। अबुबाकारी कोइटा र बार्नाबास भार्गाले गोल गर्ने राम्रा अवसरहरू सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्। तर, पहिलो हाफको इन्जुरी समयमा उनाइ लोपेजले आफ्नो अघिल्लो गल्ती सच्याउँदै रायोको अग्रता दोब्बर पारे। अखोमाचको शक्तिशाली प्रहारलाई गोलरक्षक स्ट्राकोसाले रोके पनि रिबाउन्डमा आएको बललाई लोपेजले नजिकबाट गोलमा परिणत गरे।

पहिलो हाफमा रायो स्पष्ट रूपमा हाबी देखिएको थियो भने दोस्रो हाफ भने केही प्रतिस्पर्धात्मक बन्यो, जहाँ दुवै टोलीले अवसरहरू सिर्जना गरेका थिए।

खेलको अन्तिम गोल पेनाल्टीमार्फत आयो। भिएआर समीक्षापछि फिलिपे रेल्भासले पाचा एस्पिनोको प्रहारलाई हातले रोकेको पुष्टि भएपछि रायोले पेनाल्टीको अवसर पायो। इसी पालाजोनले गोलरक्षक स्ट्राकोसालाई विपरीत दिशामा पठाउँदै सहज रूपमा बललाई जाली चुमाए र रायोको ३–० को शानदार जित सुनिश्चित गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button