वैश्विक सुरक्षाको नारा, मानवता माथिको बमवर्षा : अमेरिकी दोहोरो चरित्रको कालो सत्य

# संकेत किराँती
के तपाईंले आजको संसार देख्नुभएको छ? जहाँ एकातिर ‘वैश्विक सुरक्षा’ र ‘शान्ति स्थापना’ को ठूलो नारा लगाइन्छ, र अर्कोतिर त्यही नारा लगाउने शक्तिले हजारौं माइल टाढा बसेका निर्दोष मानिसहरूको घरमा आगो लगाइरहेको हुन्छ, उनीहरूको सपनामा बम बर्साइरहेको हुन्छ। यही हो अमेरिकी ‘वैश्विक सुरक्षा’ को वास्तविक अनुहार।
हालै सार्वजनिक गरिएको एउटा प्रचार सामग्रीमा अमेरिकाले लेखेको छ, ‘हामी शान्ति र सुरक्षा ल्याइरहेका छौं, वैश्विक सुरक्षा प्रवर्द्धन गरिरहेका छौं।’ र त्यसको केन्द्रमा छ, इरान। तर, यही नाराले इरानदेखि इराक, अफगानिस्तानदेखि यमनसम्मका लाखौं मानिसको आँखाबाट आँसु बगाएको छ, लाखौं घर भत्काएको छ, र अनगिन्ती बालबालिकालाई अनाथ बनाएको छ।
के यो हो ‘वैश्विक सुरक्षा’? जब अमेरिकी ड्रोनले अफगानिस्तानको एउटा विवाह समारोहमा बम प्रहार गर्छ, जहाँ निर्दोष महिला र बालबालिका मारिन्छन्, के त्यो सुरक्षा हो? जब इराकमा अमेरिकी सेनाले ‘सद्दाम हुसेनसँग सामूहिक विनाशको हतियार छ’ भनेर आक्रमण गर्छ, र पछि त्यो झूठ साबित हुन्छ, के त्यो सुरक्षा हो? जब इरानमाथि क्रूर आर्थिक प्रतिबन्ध लगाएर सर्वसाधारण नागरिकलाई औषधि र भोजनबाट वञ्चित गरिन्छ, के त्यो सुरक्षा हो?
अन्तर्राष्ट्रिय सम्बन्धका जानकार प्रा. डिल्लीराज खनाल भन्छन्, ‘अमेरिकाले “वैश्विक सुरक्षा” को नारा लगाउँछ, तर उसको वास्तविक उद्देश्य मध्यपूर्वको तेल र आफ्नो भू-रणनीतिक स्वार्थ सुरक्षित गर्नु हो। उसले “आतंकवाद विरुद्धको युद्ध” को नाममा जति पनि देशमा हस्तक्षेप गर्यो, ती सबै देश आज अझ अस्थिर, अझ हिंसात्मक र अझ गरिब भएका छन्।’
इतिहासलाई उल्टाएर हेरौं। इरानमा सीआईएले प्रजातान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री मोसद्देकलाई १९५३ मा हटाएर तानाशाहलाई सत्तामा ल्यायो। त्यसयता इरानमा अमेरिकी दुष्प्रभाव र हस्तक्षेपको शृंखला नै चलिरहेको छ। इराकमा दुई पटकको युद्ध, अफगानिस्तानमा २० वर्षे कब्जा, सिरियामा विद्रोहीलाई हतियार आपूर्ति, यी सबै “वैश्विक सुरक्षा” को नाममा गरिएका काम हुन्।
तर यी ‘सुरक्षा’ अभियानका परिणाम के देखियौं भने: इराकमा झन्डै ५ लाख मानिस मारिए, अफगानिस्तानमा २ लाख भन्दा बढी नागरिकको मृत्यु, इरानमाथिको प्रतिबन्धका कारण हजारौं बिरामीको मृत्यु, सिरिया, यमन, लिबिया जस्ता देश पूर्ण रूपमा ध्वस्त भए।
राजनीतिक विश्लेषक टेकनाथ धमला भन्छन्, ‘अमेरिकाले “सुरक्षा” र “मानव अधिकार” को नारा लगाएर मध्यपूर्वमा जे गर्यो, त्यसले उसको दोहोरो चरित्र उजागर गरेको छ। एउटै हतियार जब अमेरिकासँग हुन्छ, त्यो “रक्षाको हतियार” हुन्छ, र जब अरू राष्ट्रसँग हुन्छ, त्यो “आतंकवादी हतियार” हुन्छ। यही हो उसको कूटनीति।’
सबैभन्दा ठूलो विडम्बना के हो भने, अमेरिका आफैंले हतियार बेचेर अर्बौं डलर कमाउँछ, र त्यही हतियारले मध्यपूर्वमा रगतको खोला बगाइरहेको हुन्छ। उसले आफ्नो लागि जे चाहन्छ, त्यो “सुरक्षा” हो; र अरूले आफ्नो रक्षाको लागि जे चाहन्छन्, त्यो “धम्की”।
यसर्थ, ‘वैश्विक सुरक्षा’ को यो नारा केवल एउटा आवरण मात्र हो। यसको पछाडि लुकेको छ, तेलको लोभ, भू-रणनीतिक वर्चस्वको भाेक, र हतियार व्यापारको अर्बौं डलरको कारोबार। इरान र मध्यपूर्वका जनता यसको सबैभन्दा ठूलो सिकार भएका छन्।
तर, यो सत्य अब लुकेको छैन। संसारभरका मानिसहरू बुझ्दैछन् कि यो “सुरक्षा” होइन, यो एउटा साम्राज्यवादी सोच हो, जसले आफ्नो स्वार्थको लागि लाखौंको ज्यान लिन पछि पर्दैन। र यही कारण, आज जताततै अमेरिकी नीतिप्रति प्रश्न उठिरहेका छन्, आक्रोश बढिरहेको छ।
किनकि, साँचो सुरक्षा त्यो हो जसले मानिसलाई बाँच्न दिन्छ, सास फेर्न दिन्छ, सपना देख्न दिन्छ, बम र बन्दूकले होइन। अनि, जबसम्म अमेरिकाले यो सत्य बुझ्दैन, तबसम्म ‘वैश्विक सुरक्षा’ को उसको हरेक नारा व्यंग्य बनेर फर्किरहनेछ।





