सांसद रामविनोद यादवको कालो इतिहास र रास्वपाप्रति प्रश्नचिह्न

काठमाडौं : पत्रकार अरुण सिंघानियाको हत्यामा दोषी ठहर भई तीन वर्ष कैद सजाय भोगिसकेका राम विनोद यादव फागुन २१ गतेको निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ बाट ४१ हजार ६ सय ३७ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका यादवको आपराधिक पृष्ठभूमि र हत्याकाण्डमा संलग्नताको पुष्टि जिल्ला अदालत र उच्च अदालतले गरिसकेको छ।
जनकपुर बम विस्फोट र सिंघानिया हत्याका मुख्य योजनाकार ठहरिँदै जन्मकैद पाएका सञ्जय साह (टकला) का मुख्य सहयोगी रहेका यादव सिंघानिया हत्यासँगै अन्य अपराधमा समेत संलग्न रहेको प्रहरी तथ्यांकले देखाएको छ। जिल्ला अदालत धनुषाले उनी सिंघानिया हत्याको योजना र सुटर व्यवस्थापनमा संलग्न रहेको ठहर गर्दै तीन वर्ष कैद सजाय तोकेको थियो। उच्च अदालत जनकपुरले पनि जिल्लाकै फैसला सदर गरेको थियो।
निर्वाचन कानुनअनुसार हत्यामा २० वर्षभन्दा कम सजाय तोकिएका व्यक्ति ६ वर्षसम्म उम्मेदवार बन्न नपाउने व्यवस्था छ। २०८२ साउन ३२ मा ६ वर्षको अवधि कटेपछि उनी रास्वपामा प्रवेश गरी धनुषा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार बने र विजयी भए। कानुनी रूपमा उनी प्रतिनिधि सभाको सदस्य बन्न योग्य देखिए पनि सुशासन र विधिको शासनको वकालत गर्दै आएको रास्वपाले हत्या जस्तो जघन्य अपराधमा दोषी ठहरिएका व्यक्तिलाई उम्मेदवार बनाउनुले गम्भीर प्रश्न खडा गरेको छ। पार्टी उपाध्यक्ष डीपी अर्यालले समेत उनलाई जिताउन विशेष भिडियो सन्देश नै बनाएर सार्वजनिक गरेका थिए।
कसरी भएको थियो पत्रकार हत्या ?
२०६६ साल फागुन १७ गते होलीको दिन साँझ ६ बजे जनकपुर टुडेका प्रकाशक अरुण सिंघानियालाई होलीमा रंग दल्ने बहानामा निधार र टाउकोमा दुई वटा गोली हानिएको थियो। सोही गोलीको चोटबाट सिंघानियाको मृत्यु भएको शव परीक्षण प्रतिवेदनमा उल्लेख छ।
हत्यापछि तराई जनतान्त्रिक पार्टी मधेसका अर्जुन सिंह उर्फ मुकेश चौधरीले पत्रकारलाई फोन गरेर घटनाको जिम्मा लिएका थिए। तर पछि हत्याको योजनाकार सञ्जय साह टकला रहेको खुल्यो। प्रहरीको अनुसन्धानलाई सशस्त्र विद्रोही समूहतिर मोड्न चौधरीलाई जिम्मा लिन लगाएको देखियो।
जिल्ला विकास समिति धनुषाका लेखापाल जीवनाथ चौधरीको घरमा २०६५ भदौ १३ मा डकैती भएको थियो। सो डकैतीबारे सिंघानिया प्रमुख रहेको जनकपुर टुडे पत्रिका र एफएममा सञ्जय साहको योजनामा घटना भएको भन्दै समाचार प्रकाशित र प्रसारण भएको थियो। चौधरी र टकलाबीच सो क्षेत्रमा लामो समयदेखि दुश्मनी थियो। चौधरीको हत्या गर्ने योजनाअनुसार टकलाले जनकपुरको चोकमा बम विस्फोट गराउँदा अन्य व्यक्ति मारिएपछि उनले जन्मकैद पाएका थिए। सिंघानियाको हत्याको मुख्य कारण पनि चौधरीको समाचार नै देखियो।
पत्रिका र एफएममा समाचार आएपछि टकलासहितको समूह कार्यालयमै गएर तोडफोड गर्दै समाचार सच्याउन धम्की दिएको र नमानेपछि रामविनोदसहित मिलेर सुटरहरू खोजी गरी उनको हत्या गराएको देखिन्छ।
रामा होटलमा बनेको हत्याको योजना
हत्याको योजना रामा होटलमा भएको देखिन्छ। घटनाका मुख्य सुटर मनक लामाको बयानअनुसार एकलाल सहनीले सो होटलमा लगेर ‘नमस्कार गर, राम विनोद दाइ उहाँ नै हो, सञ्जय साहको दाहिने हात’ भनेर राम विनोद यादवलाई चिनाएको र राम विनोदले पहिला गोली चलाएको छ कि छैन भनेर सोधेको उल्लेख छ।
फागु पूर्णिमाको दिन उनीसहित राम विनोद यादव, चन्द्रदीप यादव, विजय कुसियैत, पवन लामा र अंशी राईन होटलमा बसेका थिए। राम विनोदको प्रश्नमा उनले गोली चलाएको छैन भनेपछि एकलाले सिकिहाल्छ भनेको र राम विनोदले आफूले बोकेको झोलाबाट ५–७ वटा बन्दुक निकालेर आफूसहित होटलको कोठामा रहेकाहरूलाई गोली लोड भएको हतियार दिएको उल्लेख छ।
एकलालको बयानअनुसार वीरेन्द्र बजार गएको बेला चन्द्रदीप यादवसँग भेट भएको र यादवले ठुलो मानिसको हत्या गर्नु छ सुटर चाहिएको छ भनेपछि एकलाल र मनक लामा भएर विजय कुसियैत र चन्द्रदीप यादवसँग एक लाख ५० हजार रुपैयाँ लिएर हत्या गर्न सहमत भएको उल्लेख छ।
सुटर ग्रुपमा पवन लामा र मनक लामा, दोस्रो समूहमा एकलाल र अंशी राईन, तेस्रो समूहमा चन्द्रदीप र विजय कुसियैत रहेको देखियो। आदेश दिनेमा चन्द्रदीप र राम विनोद यादव रहेको खुल्यो। हत्या गर्न राम विनोदले मनक लामालाई पेस्तोल दिएका थिए। हत्या गरेबापत लामाले ९० हजार पाए।
हत्याको दिन चन्द्रदीपसहित सञ्जय कुमार साह टकलाको घरमा गए। त्यहीँ फागुको दिन रंग दल्दा अन्यले नचिन्ने र सिंघानियाको हत्या गर्न सहज हुने निष्कर्ष निस्कियो। टकलाले पहिला ५ लाख र काम भएपछि थप ५ लाख दिने बताएका थिए। सबै व्यवस्थापनको जिम्मा राम विनोदले लिए। सुटरहरू होटलमा आएर बसेपछि सञ्जय टकला र राम विनोद यादव सडक विभागको गाडीमा होटलमा आएर हतियार दिएको फैसलामा संलग्न बयानहरूबाट खुल्छ।
घटनाको दिन होटलमा बसेर मदिरा पिएपछि हत्या गर्दा कसैले नचिनुन् भनेर उनीहरूले होलीको कपडा किनेको र अनुहारमा रंग दलेका थिए। त्यसपछि उनीहरू मोटरसाइकलमा सिंघानिया भएको ठाउँतिर गएका थिए। सिंघानिया देखेपछि घेरा हालेर भाग्न नदिई चन्द्रदीप यादव र राम विनोद यादवले गोली हान भनेको र पवन लामा र मनक लामाले अरुणको टाउकोमा गोली हानेर मोटरसाइकलबाट भागेका थिए। पछि उनीहरूलाई टकलासहितले सरकारी गाडीमा राखेर भगाएका थिए।
सात वर्ष फरार, पछि सजाय भुक्तान
राहुल सिंघानियाको जाहेरीका आधारमा मुद्दा दायर भयो। सञ्जय कुमार साह टकला त्यो बेला जनकपुर बम विस्फोटमा संलग्न रहेको आरोपमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा गइसकेका थिए। सिंघानियाको हत्या पनि उनकै निर्देशनमा भएको देखियो। त्यसमा राम विनोद यादव समेत संलग्न रहेको प्रमाणहरूले खुलायो। तर उनी तत्कालीन समयमा फरार थिए।
उनी फरार भएको ७ वर्षपछि २०७३ साउन ३२ गते जिल्ला अदालत धनुषामा हाजिर भए। २०७६ असार १७ गते भएको फैसलामा राम विनोद यादवले हतियार उपलब्ध गराएको भन्दै दोषी ठहर भए। अदालतमा राम विनोद यादवले इन्कारी बयान गरे पनि मुलुकी ऐन ज्यान सम्बन्धी महलको १७(३) नम्बर बमोजिमको कसुरमा संलग्न रहेको ठहर गर्दै अदालतले ३ वर्ष कैदको सजाय सुनायो। कैद सजाय सुनाउँदा उनी पुर्पक्षमै थिए।
२०७३ मै पुर्पक्षका लागि थुनामा रहेका यादव सप्तरीमा केही समय बसेपछि सरुवा भएर केन्द्रीय कारागार सुन्धारामा आएका थिए। २०७४ असोजमा उनी सप्तरीमै सरुवा भए। तीन वर्ष कैद सजाय भुक्तान गरेर उनी रिहा भए।
जिल्ला अदालतले कैद सजाय तोकेपछि २०७६ साल मंसिर १३ गते राम विनोद यादव पुनरावेदन लिएर उच्च अदालत जनकपुरमा गएको देखियो। उच्च अदालतले जिल्लाकै फैसला सदर गरिदियो। उच्च अदालत जनकपुरबाट यो फाइल महान्यायाधिवक्ताको कार्यालयमा आयो। दुवै तहको अदालतबाट फैसला भएको भन्दै महान्यायाधिवक्ता कार्यालयले २०७९ पुस २७ गते सर्वोच्च अदालतमा पुनरावेदन नजाने निर्णय गर्यो। यादव पनि पुनरावेदनमा गएनन्।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता अच्युतमणि नेउपाने यादवले इन्कारी बयान दिएको र दुई अदालतले एउटै मुद्दा सदर गरेकाले फैसलाबारे पुनरावेदनमा नजाने निर्णय भएको बताउँछन्।
मधेसको राजनीति र आपराधिक पृष्ठभूमि भएका नेताको उदाउँदो कथा
सञ्चार उद्यमीको हत्यामा दोषी ठहर भएर कैद सजाय नै पाएपछि राम विनोद मूलधारको राजनीतिमा थिएनन्। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन हुने भएसँगै काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाह रास्वपामा प्रवेश गरेपछि रास्वपामा प्रवेश गर्नेहरू बढे। यही माहौलमा उनी पनि रास्वपामा प्रवेश गरेर सहजै धनुषा–२ बाट उम्मेदवार बने र सहजै माननीय पनि।
उनी मात्र हैनन्, गम्भीर अपराधमा संलग्नहरू राजनीतिमा उदाउन मधेस निकै उर्वर भूमि देखिन्छ। त्यसको प्रारम्भ मिर्जा दिलसाद बेगबाटै भएको थियो। विभिन्न दल हुँदै मन्त्रीसम्म बन्न सफल उनी आफ्नो आपराधिक कर्मकै कारण २०५१ मा काठमाडौंको सिफलमा गोली लागेर मारिए।
त्यसपछि मधेसमा मोहम्मद आफताव आलम खुंखार अपराधीको रूपमा उदाए। नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय रहेका उनी पनि मन्त्रीसम्म भए। तर निर्वाचन जित्न आफ्नो क्षेत्रमा बम पड्काएर आतंक मच्चाउने तयारीकै क्रममा बम पड्कँदा घाइते भएका सहयोगीहरूलाई इटाभट्टामा जलाएको घटना सार्वजनिक भयो। उनी जेल परे। पछि उच्च अदालतबाट उनलाई सफाइ दिने निकै विवादित फैसला भयो। सरकारी पक्ष फैसलाको पुनरावलोकनमा जाने तयारीमै रहेको बेला उनको मृत्यु भयो।
अर्का देखिए सञ्जय शाह टकला। टकला विभिन्न मधेसवादी दलहरूबाट राजनीतिमा सक्रिय भइरहेका थिए। ध्रुवतारा कन्ट्रक्सनबाट ठेक्कापट्टामा पनि संलग्न थिए। त्यही ठेक्कापट्टाको विवादमा उनी र जीवनाथ चौधरीबीच दुश्मनी रोपिएको थियो। उनी २०६४ को संविधान सभाको निर्वाचनमा मधेस आन्दोलनको रापमा मधेसी जनअधिकार फोरमबाट उम्मेदवार भएर जिते र भौतिक राज्यमन्त्रीसमेत बने। दल बदल्दै कहिले लोकतान्त्रिक फोरम त कहिले सद्भावनामा लागेका उनी २०७० को निर्वाचनमा समेत जितेका थिए। उनी सांसद पदमै रहेको बेला जनकपुर बम विस्फोटको योजनाकारको रूपमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा गए। यो अपराधमा उनलाई पछि जन्मकैद भयो। २०७२ मा प्रहरीले सिंघानिया हत्याका आरोपी पक्राउ गरेपछि उनको नाम पोलियो। यसमा पनि उनलाई जन्मकैदको फैसला भयो।
टकलापछि केन्द्रीय राजनीतिमा संगठित अपराधमा संलग्नहरूको प्रतिनिधित्व थिएन। २०८२ भदौ २३ र २४ मा सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको जेनजी आन्दोलनको बलमा फागुन २१ मा भएको निर्वाचनबाट अर्का त्यस्तै पात्र राम विनोद जेनजी आन्दोलनको स्वामित्व लिएको दल रास्वपाबाट संसदमा आइपुगेका छन्।





