नयाँ संसद भवन निर्माणको अन्तिम चरण : प्रतिनिधि सभा हल तत्कालका लागि वैकल्पिक व्यवस्थामा

काठमाडौं : सिंहदरबार परिसरभित्र निर्माणाधीन नयाँ संसद भवनको काम अन्तिम चरणमा पुगेको छ। प्रतिनिधि सभाको मुख्य हलमा प्राविधिक जटिलताका कारण केही ढिलाइ भए पनि वैकल्पिक हल तयार पारेर सदन सञ्चालनको व्यवस्था गरिएको छ।

शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार प्रतिनिधि सभाको मुख्य हलमा फल्स सिलिङको काममा प्राविधिक समस्या देखिँदा अपेक्षित गतिमा काम अघि बढ्न सकेको छैन। यस कारण मुख्य हल पूर्ण रूपमा तयार हुन अझै १० देखि १२ दिन लाग्ने भएको छ।

तर, संसद सञ्चालनमा अवरोध नहोस् भन्नका लागि नयाँ भवनभित्रकै अर्को हललाई अस्थायी रूपमा प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न मिल्ने गरी तयार पारिएको छ। श्रेष्ठले भने, ‘हामीले त्यही भवनभित्रको अर्को हललाई प्रतिनिधि सभा सञ्चालन गर्न सक्ने गरी तयार पारेका छौं। अब दुई–तीन दिनभित्रै उक्त हल तयार भएर संसद सचिवालयलाई हस्तान्तरण गर्न सकिने अवस्थामा पुग्नेछ।’

यो वैकल्पिक हलमा नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम सञ्चालन गर्न सकिनेछ भने आवश्यक परे प्रतिनिधि सभाको बैठकसमेत सञ्चालन गर्न मिल्ने व्यवस्था गरिएको छ। राष्ट्रिय सभाको बैठक भने सिंहदरबार परिसरकै कृषि समितिको पुरानो हलमा सञ्चालन भइरहेको छ।

निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ। दैनिक करिब ३८० देखि ४१० जनासम्म कामदार तीन शिफ्टमा २४ सै घण्टा काम गरिरहेका छन्। विभागका प्राविधिक कर्मचारीहरू समेत निरन्तर रूपमा साइटमा खटिएर अनुगमन गरिरहेका छन्। श्रेष्ठका अनुसार अब करिब डेढ महिनाभित्र सम्पूर्ण भवनको काम सम्पन्न हुने अनुमान छ।

निर्माण अवधि लम्बिनुका कारणबारे उनले जानकारी दिँदै भने, ‘निर्माण सुरु हुनुअघि त्यहाँ नेपाली सेनाको चण्डीदल गण र अर्को सैन्य युनिट रहेकाले उनीहरूलाई स्थानान्तरण गर्नुपर्यो, त्यसका लागि समय लाग्यो। त्यसपछि कोभिड–१९ महामारीका कारण निर्माण प्रभावित भयो। विदेशबाट आयात हुने विशेष सामग्री समयमा नआउँदा पनि काम रोकिनुपरेको अवस्था छ। विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनले पनि निर्माण कार्यमा असर पुर्याएको छ।’

यद्यपि समय लम्बिए पनि परियोजनाको लागत भने नबढ्ने उनले स्पष्ट पारे। संसद भवनको सिभिल निर्माणतर्फ करिब ५ अर्ब ५० देखि ६० करोड रुपैयाँ र इन्टेरियर निर्माणका लागि थप २ अर्ब ३४ करोड रुपैयाँ गरी सम्झौता लागतभित्रै भवन निर्माण सम्पन्न हुने उनले बताए।

करिब १५० रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ संसद भवन तयार भएपछि संघीय संसदका सम्पूर्ण गतिविधि यही नयाँ संरचनाबाट सञ्चालन हुनेछन्। यसअघि अस्थायी रूपमा संसद बैठक सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई अब सम्मेलन केन्द्रकै रूपमा प्रयोग गरिने बताइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button