‘अबको चुनाव लड्दिनँ’ : सीके राउतको संसदीय राजनीतिबाट अवकाश घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट अवकाश लिने घोषणा गरेका छन्। प्राइम टीभीको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले आगामी निर्वाचनमा चुनाव नलड्ने स्पष्ट पारेका हुन्।

‘यसपालिको निर्वाचनमा जिते पनि हारे पनि संसदीय राजनीतिबाट अवकाश लिन्छु भन्ने सोचेको थिएँ। यसको अर्थ पार्टीलाई अलपत्र पार्छु भन्ने होइन। आगामी निर्वाचनहरूमा पार्टीबाट तयारी गरे पनि म भने संसदीय चुनाव लड्दिनँ,’ उनले भने।

संसद्मा आफ्नो ठूलो उपयोगिता नरहेको टिप्पणी गर्दै उनले अब संसदीय राजनीतिमा भाग नलिने र कुनै पनि निर्वाचनमा प्रतिस्पर्धा नगर्ने खुलासा गरे।

२०७९ को निर्वाचनमा पनि आफू उम्मेदवार बन्न नचाहेको स्मरण गर्दै उनले भने, ‘साथीहरू भक्तपुरमा बसेर समानुपातिक सूची बनाइरहेका थिए। मलाई समानुपातिक वा प्रत्यक्षमा पनि उम्मेदवार नबनाउनु भनेको थिएँ। उहाँहरूले तपाईंले चुनाव नलडे मनोबल गिर्छ, एउटा पनि सिट जितिएन भने के गर्ने भनेर कन्भिन्स गराए। यसरी नचाहँदा नचाहँदै लडेँ।’

हालको निर्वाचन परिणामले आफू दुःखी नभएको जिकिर गर्दै उनले भने, ‘यसपालि पनि म निर्वाचन नलड्ने सोचमा नै थिएँ। पराजित हुन्छु भन्ने धेरै हदसम्म थाहा थियो। चुनाव नलडेको भए मधेशवादी दल सबै पराजित भएको दोष मलाई पनि आउँथ्यो। तर लडेर ठिकै गरेछु भन्ने लागेको छ।’

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button