चीन–भियतनाम ‘३ + ३’ रणनीतिक संवादः समाजवादी एकताको नयाँ आयाम

काठमाडौं / चीन र भियतनामबीचको पहिलो ‘३+३’ रणनीतिक संवाद (कूटनीति, रक्षा तथा सार्वजनिक सुरक्षा) सोमबार भियतनामको राजधानी हनोइमा सम्पन्न भएको छ। उक्त बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यी, सार्वजनिक सुरक्षामन्त्री वाङ शियाओहोङ र राष्ट्रिय रक्षामन्त्री डङ जुन तथा भियतनामी विदेशमन्त्री ले होआइ चुङ, रक्षामन्त्री फान भान गियाङ र सार्वजनिक सुरक्षामन्त्री लुओङ ताम क्वाङको सहभागिता रहेको थियो।
दुवै पक्षबीच अन्तर्राष्ट्रिय परिदृश्यको विकासक्रम, राजनीतिक सुरक्षाको संरक्षण, तथा रक्षा र प्रहरी सहकार्यलाई अघि बढाउने विषयमा गहिरो वार्ता भएको थियो, जसमा व्यापक सहमति कायम भएको छ।
चिनियाँ विदेशमन्त्री वाङ यीले मन्त्रीस्तरीय ‘३+३’ रणनीतिक संवाद विश्वकै पहिलो सामाजिक सुरक्षा र रणनीतिक समन्वय गर्ने अभिनव थलो भएको बताए। उनले यो संयन्त्र चीन–भियतनाम साझा भविष्य समुदाय निर्माणको आन्तरिक आवश्यकता मात्र नभई विश्व समाजवादी आन्दोलनको पुनरुत्थानको लागि एउटा ऐतिहासिक पाइला भएको उल्लेख गरे। यसले दुवै देशका कम्युनिष्ट पार्टी र जनताबीचको सम्बन्धको उच्चस्तर र रणनीतिक प्रकृतिलाई उजागर गरेको छ।
वाङ यीले थप्दै भने, ‘चीन र भियतनामको स्थायित्व र विकासले समाजवादी प्रणालीको उत्कृष्टता, समाजवादी आन्दोलनको सशक्त जीवनशक्ति र मानव प्रगतिको उज्ज्वल भविष्यलाई विश्वसामु प्रदर्शन गर्नेछ।’
चिनियाँ सार्वजनिक सुरक्षामन्त्री वाङ शियाओहोङले दुवै देशका सुरक्षा निकायले राजनीतिक सुरक्षालाई प्राथमिकता दिँदै ‘रङ्ग–क्रान्ति’जस्ता अस्थिरताको रोकथाममा जोड दिनुपर्ने धारणा राखे। साइबर सुरक्षा, अनलाइन जुवा, टेलिकम ठगी, लागूऔषध नियन्त्रण र फरार प्रतिवादी फिर्ता तथा सम्पत्ति उद्धारजस्ता क्षेत्रमा सुरक्षा सहकार्यलाई प्रभावकारी बनाउन पनि उनले आग्रह गरे।
चिनियाँ रक्षामन्त्री डङ जुनले चीन र भियतनामबीच सैनिक सुरक्षामा विश्वास बढाउने, सहकार्यका क्षेत्र विस्तार गर्ने र समुद्री सुरक्षा तथा स्थिरतालाई सकारात्मक अन्तरक्रियाबाट सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। समाजवादी देशहरूको सैनिक शक्तिबीच एकता र आत्मनिर्भरताको उदाहरण प्रस्तुत गर्न पनि उनले आह्वान गरे।
भियतनामी पक्षले द्रुत बदलिँदो र अनिश्चित अन्तर्राष्ट्रिय परिस्थितिमा साझा चुनौतीको सामना गर्न दुवै पार्टी र देशबीचको एकता र सहकार्य झन् आवश्यक भएको बताए। आपसी हितका लागि उच्चस्तरीय आदानप्रदान, बहुक्षेत्रीय सहकार्य र अन्तर्राष्ट्रिय मञ्चमा समन्वय सशक्त बनाउँदै भियतनाम–चीन व्यापक रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन भियतनाम तत्पर रहेको जनाएको छ।
दुवै पक्षबीच दोस्रो ‘३+३’ रणनीतिक संवाद चीनमा आयोजना गर्ने तथा वरिष्ठ अधिकारीस्तरीय नियमित सम्पर्कलाई निरन्तरता दिँदै कूटनीति, रक्षा र सुरक्षा क्षेत्रको समन्वयलाई गहिरो बनाउने सहमति भएको छ।





