‘माओ मोह’ होइन, विरासत जोगाउने जनताको निर्णय : माओवादी आधार क्षेत्रले नै जितायो नेकपालाई

काठमाडौं / नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा हात पारेका ८ सिटमध्ये ५ वटा माओवादी जनयुद्धको जन्मभूमि मानिने रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, कालीकोट र रोल्पाबाट आएको छ। पार्टीको नाम र विचारधारा परिवर्तन भए पनि यी आधार क्षेत्रका मतदाताले भने माओवादीको ऐतिहासिक विरासतलाई जीवन्त राख्दै नेकपालाई जिताएर पठाएका छन्।

जनयुद्धको थालनी २०५२ फागुन १ मा यिनै क्षेत्रबाट भएको थियो। २०५७ पुससम्म आइपुग्दा माओवादीले यहीँ समानान्तर सरकार गठन गरेर ‘जनसत्ता’ सञ्चालन गर्यो। शान्ति प्रक्रियापछि माओवादी मूलधारको राजनीतिमा आयो। कात्तिक तेस्रो साता एकीकृत समाजवादीसँग पार्टी एकता गरेर माओवादीले नाम र विचारधाराबाट माओवाद त्याग्यो। तर, यी क्षेत्रका मतदाताले भने मूलधार छाडेनन्। उनीहरूले पुष्पकमल दाहाल नेतृत्वको नेकपालाई नै रोजे।

जनयुद्धको विरासत बोकेका यी क्षेत्रमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले माओवादको झन्डा बोके पनि जनताको मन जित्न सकेन। उसको कुनै पनि उम्मेदवार विजयी भएनन्। चन्द आफैं उम्मेदवार बनेनन्। उता, पुष्पकमल दाहाल र उनका सहयात्रीहरूले भने यी क्षेत्रमा सहज जित हात पारे।

कालीकोटमा पूर्वमाओवादी लडाकु कमान्डर महेन्द्रबहादुर शाही विजयी भए। उनी विगतमा जनार्दन शर्मा निकट थिए, तर दाहाल–शर्मा द्वन्द्व बढेपछि संस्थापन पक्ष अर्थात दाहालकाे पक्षमा उभिए। उता, माओवादी परित्याग गरेर नेत्रविक्रम चन्दको पार्टीमा गएका खड्गबहादुर विश्वकर्मा भने तेस्रो स्थानमा सीमित रहे।

रुकुम पश्चिमको परिणामले राजनीतिक वृत्तमा चर्चा पायो। माओवादी शान्तिप्रक्रियापछि प्रभावशाली नेता बनेका जनार्दन शर्मा यसपटक पराजित भए। ०६४ देखि ०७९ सम्म उनी अपराजित थिए। तर, मूलधारको राजनीति छाडेपछि उनको भाग्यले साथ दिएन। उनी आफैंले राजनीतिमा हुर्काएका गोपाल शर्मासँग पराजित भए। रुकुम पश्चिममा गोपाल शर्माले सहज जित हात पारे भने जनार्दन शर्मा तेस्रो स्थानमा खुम्चिए।

रोल्पाको कथा पनि फरक छैन। ०६४ देखि माओवादीले निरन्तर जित्दै आएको यो क्षेत्रमा वर्षमान पुनले भारी मतान्तरले जित हात पारे। सशस्त्र युद्धमा लडाकुको डेपुटी कमान्डर रहेका पुन यतिबेला दाहालका विश्वासिला सल्लाहकार मात्र होइन, पार्टीका वरिष्ठ नेता पनि हुन्। यस्तै, सल्यानबाट दाहालका पूर्व स्वकीय सचिव रमेश मल्ल, रुकुम पूर्वबाट पुष्पकमल दाहाल र सिन्धुपाल्चोक-२ बाट पूर्वलडाकु कमान्डर युवराज दुलाल विजयी भएका छन्।

पूर्वप्रधानमन्त्री दाहाल यसपटक रुकुम पूर्वबाट उम्मेदवार बने। आफ्नै आधार क्षेत्र मानिने यो ठाउँबाट उनले सहज जित हात पारे। तर, यसपालिको संसद्मा उनी एक्ला पूर्वप्रधानमन्त्री हुनेछन्। कांग्रेसका शेरबहादुर देउवा, एमालेका केपी शर्मा ओली र नेकपा सहसंयोजक माधवकुमार नेपाल यसपटक संसद्मा हुने छैनन्। राजनीतिक पुस्ताका हिसाबले दाहाल ‘डाँडामाथिको एक्लो सल्लो’ बनेका छन्।

नेकपाका वरिष्ठ नेता वर्षमान पुनले यी क्षेत्रमा पार्टीले पाएको जितलाई जनतासँगको अटूट विश्वासको परिणाम बताएका छन्। ‘पूर्वमाओवादी नेतृत्वप्रति जनताको अगाध माया, विश्वास र भरोसा छ,’ उनी भन्छन्, ‘जनधार र संगठन बलियो भएकाले नै हामीले जित्यौं। यो व्यवस्था ल्याउने जनयुद्धको आधार क्षेत्र हो, त्यसैले जनताले हामीलाई जिताए।’ नेकपा रुकुम पूर्वकी इन्चार्ज कमला रोका थप्छिन्, ‘जनयुद्धमा त्याग, तपस्या र बलिदान दिएको यो आधार क्षेत्र हो। जनयुद्धको इतिहास आफैंमा निकै प्यारो छ यहाँ। शान्ति प्रक्रियाको पनि यही आधार इलाका हो, त्यसैले हामीले सजिलै जित्यौं।’

तर, यी परिणामलाई फरक दृष्टिकोणले हेर्ने पनि छन्। प्रतिक्रिया दिँदै प्रेम चेम्जोङ लिम्बू लेख्छन्, ‘माओ मोह त होइन साँच्चै नै त्यो एरियाका जनताहरू अझै पनि सिधा साधा नै रहेछन् ! ०६२/६३ पछाडि यी जित्ने व्यक्तिहरू कतिपटक सरकार चलाउन पुगे, मन्त्री–प्रधानमन्त्री भए। उनीहरूको जीवनशैलीमा कति परिवर्तन आयो र ती रोल्पा–रुकुमका जनताको जीवनशैलीमा कतिको परिवर्तन आयो? ती कुराहरू तुलना गर्न नसक्ने होला त्यहाँका जनताले ! कठै बिचरा ती जनताहरू माओ मोह रे…!!!’

जे होस्, माओवादी आन्दोलनको उद्गमस्थल मानिने यी क्षेत्रका जनताले यसपटक पनि पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई नै रोजेका छन्। यसले विचारधारा र नाम परिवर्तन भए पनि यी क्षेत्रमा अझै पनि माओवादी आन्दोलनको ऐतिहासिक विरासतप्रति जनताको मोह कायमै रहेको देखाउँछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button