‘छोरा फर्केर आउँदैन, तर अब सदनमा उसको माग बोल्छु’ : रचना खतिवडा

काठमाडौं / भदौ २३ को आगो अझै सेलाएको छैन रचना खतिवडाको आँखाबाट। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदको सूची सार्वजनिक गर्दा उनको नाम पनि थियो। तर यो खुसीले उनको मन छोएन। किनकि उनको कलिलो छोरा रसिक फर्केर आउने छैन।
काभ्रेका २३ वर्षीय रसिक खतिवडा गत भदौ २३ गते जेन–जी आन्दोलनमा सहिद भएका थिए। उनी आन्दोलनकारी माथि चलेको गोली लागि ज्यान गुमाउने युवा हुन्। रसिककी आमा रचना अब सांसद् बनेकी छिन्। तर उनको आँखाभरि आँसु र मनभरि पीडा छ।
‘म जहाँ पुगे पनि मेरो कलिलो छोरा फर्केर त आउँदैन नि,’ रचनाको स्वर भक्कानिन्छ, ‘त्यसकारण म एक थोपा पनि खुसी छैन।’
सहिद परिवारको प्रतिनिधित्व गर्दै संसद्मा पुग्ने उनी एक्ली सांसद हुन्। रास्वपाले जेनजी घाइतेको तर्फबाट प्रकाश बोहोरा र पवन शाहीलाई बन्दसूचीमा राखेको थियो। तर उनीहरूले सांसद बन्ने अवसर पाएनन्। रचनाको नाम खस आर्य महिला क्लस्टरबाट सिफारिस भयो। उनी भन्छिन्, ‘अब मैले सदनमा बोल्न पाउँछु।’
रसिक न्याय र सुशासनको माग राखेर बानेश्वरको सडकमा उत्रिएका थिए। राज्यको गोलीले उनी सदाका लागि मौन भए। तर आमाको मनमा छोराको आवाज अझै जीवित छ। ‘म संसद्मा पनि उनीहरूविरुद्ध आवाज उठाउँछु। मेरो अन्तिम श्वास रहुन्जेल छोराहरूलाई न्याय दिलाउन लागिपर्छु,’ उनी निर्धक्क भन्छिन्।
भदौ २३ अघिसम्म रचना एउटी सामान्य गृहणी मात्र थिइन्। उनी र उनका श्रीमान पुरुषोत्तम खतिवडाले २१ वर्षसम्म किराना पसल चलाएर छोरी रसिला र छोरा रसिकलाई हुर्काए। रसिला अस्ट्रेलियामा छिन्। रसिक पनि अस्ट्रेलियाकै भिसा पर्खिरहेका थिए। तर भिसा आइपुग्दा उनी यस संसारमा थिएनन्।
त्यो दिन रचनाले सबैभन्दा ठूलो पीडा भोगिन्। खाना छाडेर आन्दोलनमा हिंडेका रसिक साँझसम्म फर्किएनन्। ‘आमालाई चिया बनाउन आउँछु’ भनेर गएका छोरा कहिल्यै फर्किएनन्। त्यसपछिका दिनहरू उनका लागि निकै कठिन रहे। उनी छोराको न्यायको माग राखेर सिंहदरबार र बालुवाटार धाइन्। सडकमा न्यायको याचना गरिन्। तर अहिलेसम्म न्याय मिलेको छैन।
कात्तिक दोस्रो साता टेकुस्थित उनको घरमा पुग्दा पुरुषोत्तमले छोराको तस्बिरमा दियो बाल्दै भनेका थिए, ‘बाबु, तिम्रो भिसा लाग्यो।’ त्यो दृश्यले त्यहाँ उपस्थित सबैको आँखा रसाएको थियो।
रचनाको संसद्यात्राको सुरुवात रास्वपा सभापति रवि लामिछानेसँगको भेटपछि भएको थियो। सहिद परिवारलाई भेट्न बबरमहल पुगेका लामिछानेले रचनाको पीडा सुने। रचना भन्छिन्, ‘उहाँले मेरा भिडियोहरू हेर्नुभयो। मेरो कुरा सुनेर रुनु पनि भयो।’
त्यसपछि रास्वपाले रचनासँग नियमित सम्पर्क राखिरहेको थियो। समानुपातिक सूचीमा नाम राख्ने विषयमा पनि छलफल भएको उनी बताउँछिन्। तर आफू सांसद बन्छु भन्ने उनले कहिल्यै सोचेकी थिइनन्। ‘म पीडित थिएँ। न्याय चाहिएको थियो। न्यायका लागि लडिरहेकी थिएँ,’ उनी भन्छिन्, ‘अब पनि म न्यायकै लागि लड्नेछु।’
उनी रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहप्रति आशावादी देखिन्छिन्। ‘रवि र बालेनले अब पहिलो मुद्दा नै सहिद परिवारको अगाडि सार्नुपर्छ,’ उनी आग्रह गर्छिन्।
हिजोसम्म रचना एउटी छोराकी आमा थिइन्, जसको मनमा छोरा गुमाएको पीडा आलो थियो। तर अब उनको काँधमा समग्र सहिद परिवार र घाइतेहरूको मुद्दा छ। ‘शरीरमा अझै गोली बोकेर हिँडेका भाइबहिनी छन्। मजस्तै सहिदका परिवारका थुप्रै आँसु छन्। यसका लागि पनि सदनमा मेरो आवाज सुनिनुपर्छ,’ उनी भन्छिन्।
चुनावअघि रचनाले भनेकी थिइन्, ‘हामीले पुरानालाई भोट दिएर जितायौं। उहाँहरूले उल्टै हाम्रै बच्चा मारिदिनुभयो। अब नयाँलाई साथ दिऊँ। यदि म त्यहाँ पुगेँ भने दुई शब्द बोल्न त पाउँछु।’ यो समाचार ई-कान्तिपुरमा छ।
अब उनी त्यो बोल्ने र सुनुवाइ हुने ठाउँमा पुगेकी छन्। तर सदनमा पुगेकी रचनाले सडकका ती आवाजहरूलाई कसरी समेट्लिन् ? त्यो हेर्न बाँकी नै छ।





