पेनाल्टीको रोमाञ्च र एकतर्फी जित: खजुरामा HFC र NJYC को सेमिफाइनल यात्रा

बाँके, – ब्रदर्स एफसीद्वारा आयोजित प्रथम खजुरा नाइट 5 ए साइड खुल्ला फुटबल प्रतियोगिता २०८२ को पाँचौं दिन आज खजुराका फुटबलप्रेमीहरूले एकै दिन दुई रोमाञ्चक क्वाटरफाइनल भिडन्तको साक्षी बन्ने अवसर पाएका छन्।
प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा भद्रकाली एफसी र हवल्दारपुर एचएफसीबीच कडा टक्कर भएको थियो। नियमित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि प्रतिस्पर्धा पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा एचएफसी (हवल्दारपुर) ले संयमित प्रदर्शन गर्दै ४–३ को नतिजा आफ्नो पक्षमा पार्यो र सेमिफाइनलको टिकट काट्न सफल भयो। भद्रकाली एफसीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीमा ल्याए पनि पेनाल्टीमा भने भाग्यले साथ दिएन।

त्यस्तै, दोस्रो क्वाटरफाइनल खेलमा साहारा एफसी (बी) र NJYC (पशुरामपुर)बीच प्रतिस्पर्धा भएको थियो। यस खेलमा NJYC ले सुरुदेखि नै आक्रामक रणनीति अपनाउँदै साहारा एफसी (बी) माथि पूर्ण दबदबा कायम राख्यो। उत्कृष्ट टोली सन्तुलन र आक्रामक खेल शैलीका कारण NJYC ले ५–१ को फराकिलो अन्तरले जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ।
आयोजक ब्रदर्स एफसीका अनुसार यी दुई रोमाञ्चक खेलपछि अब सेमिफाइनलका खेलहरू हुनेछन्। आयोजक समितिले सबै खेलप्रेमीहरूलाई आगामी सेमिफाइनल खेलहरूमा पनि उत्तिकै उत्साहका साथ उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्न आग्रह गरेको छ।
यसैबीच, प्रतियोगिता सफल पार्न विभिन्न व्यक्तित्वहरूबाट सहयोग प्राप्त भइरहेको छ। युवा समाजसेवी साकार खड्काले ब्रदर्स क्लबप्रति माया गर्दै प्रतियोगिता सम्पन्न गर्न नगद रु. ५,५००/– सहयोग प्रदान गरेका छन्। उक्त सहयोगप्रति ब्रदर्स क्लबले हार्दिक आभार व्यक्त गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेको छ।




