आकाशमा ‘अजेय’को संकट: इरानी आक्रमणको आशंकाबीच एफ–३५ स्टेल्थ विमान आपत्कालीन अवतरण

काठमाडौं / पश्चिम एसियाको युद्धग्रस्त आकाशमा एक असाधारण घटना घटेको छ। विश्वकै सबैभन्दा अत्याधुनिक र ‘अजेय’ मानिने अमेरिकी पाँचौँ पुस्ताको स्टेल्थ लडाकु विमान एफ–३५ माथि आक्रमण भएपछि ती विमानहरूलाई आपत्कालीन अवतरण गराउनु परेको छ। अमेरिकी संचारसंस्था सीएनएनले जनाएअनुसार यो घटनाले जारी युद्धमा पश्चिमी हवाई प्रभुत्वमाथि नै गम्भीर प्रश्न खडा गरेको छ।

घटनाको विस्तृत विवरण दिँदै अमेरिकी मध्य कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले जानकारी दिएअनुसार ती स्टेल्थ जेटहरू ‘इरानको आकाशमा सक्रिय युद्ध अभियानमा’ संलग्न रहेकै बेला आक्रमणमा परेका थिए। आक्रमण इरानबाट भएको हुनसक्ने आशंका गरिएको छ। चालक दलको अवस्था स्थिर रहेको र सबै विमान सुरक्षित अवतरण गराइएको जनाइए पनि यस आक्रमणले भने एफ–३५को कथित ‘अजेयता’मा धक्का पुर्याएको छ।

गत फेब्रुअरीदेखि जारी इरान युद्धमा अमेरिकी एफ–३५ माथि प्रत्यक्ष आक्रमण भएको यो पहिलो घटना हो। प्रति जहाज १० करोड अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने यी स्टेल्थ विमानलाई हालसम्म ‘अजेय’ मानिँदै आएको थियो। तर, पछिल्ला घटनाक्रमले भने त्यो धारणा कमजोर हुँदै गएको देखाएको छ। यसअघि अमेरिकी ‘एफ–१५’ विमान कुवेतको हवाई सुरक्षाबाट भुलवश खसालिएको थियो भने गत हप्ता पश्चिमी इराकमा इन्धन भर्ने ‘केसी–१३५ स्ट्राटोट्यांकर’ जहाज दुर्घटनामा परेर ६ जनाको ज्यान गएको थियो। उक्त दुर्घटनामा शत्रुपक्षको हात भने अस्वीकार गरिएको थियो।

एफ–३५ माथिको यो पहिलो प्रत्यक्ष आक्रमणले युद्धको स्वरूप नै परिवर्तन हुँदै गएको संकेत गरेको छ। विश्लेषकहरूले यसलाई केवल एउटा सैन्य घटनामात्र नभई पश्चिमी वायुसेनाको प्रभुत्वको जग हल्लाउने सम्भावित मोडको रुपमा हेरेका छन्। यस घटनाप्रति विश्वका संचारमाध्यमहरूको ध्यान केन्द्रित भएको छ भने अमेरिकी सेनाले घटनाको गम्भीर अनुसन्धान सुरु गरेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button