खजुराको नाईट फुटबलको रोमाञ्च : सेमिफाइनलबाट फाइनलमा धमाकेदार प्रवेश

बाँके, बाँकेको खजुरामा रातीको समय बिजुलीको उज्यालोसँगै फुटबलको रोमाञ्च बढ्दै गएको छ। ब्रदर्स एफसीको आयोजनामा खजुरा-४ स्थित मुसकटवा बाबा खेल मैदान डि गाउँमा फागुन ३० गतेदेखि सुरु भएको “प्रथम खजुरा नाइट फुटबल ५–ए साइड प्रतियोगिता २०८२” उत्साहजनक रूपमा अघि बढिरहेको छ। प्रतियोगिताको छैटौं दिन शुक्रबार राति सम्पन्न दुई सेमीफाइनल खेलहरूले प्रतियोगितालाई थप रोचक बनाएका छन्।

प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा मानभी एफसी र एनजेवाईसी (N.J.Y.C) बीच कडा टक्कर भएको थियो। उत्कृष्ट प्रदर्शन गरेको एनजेवाईसीले मानभी एफसीलाई ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ। यो खेलमा दुवै टोलीले उत्कृष्ट खेल कौशल देखाए पनि एनजेवाईसीको आक्रामक रणनीतिले अन्तिम समयमा विजय सुनिश्चित गर्यो।

त्यसपछि भएको दोस्रो सेमीफाइनल खेल झन रोमाञ्चक रह्यो। आयोजक टोली ब्रदर्स एफसी (ए) र एचएफसी (HFC) बीचको भिडन्तले दर्शकलाई रोमाञ्चित बनायो। खेल अन्तिम समयसम्म काँधमा काँध मिलाएर लडिएको यस खेलमा ब्रदर्स एफसी (ए) ले एचएफसीलाई ५-४ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गर्यो। स्थानीय फुटबलप्रेमीको उल्लेख्य सहभागिता रहेको यस खेलमा ब्रदर्स एफसीको जितसँगै मैदानले जयजयकारको वातावरण बन्यो।

रात्रिकालीन यस प्रतियोगिताले स्थानीय युवामा फुटबलप्रतिको उत्साह थपेको छ। अब प्रतियोगिताको फाइनल खेल एनजेवाईसी र ब्रदर्स एफसी (ए) बीच हुनेछ, जसले विजेताको टुंगो लगाउनेछ। आयोजक ब्रदर्स एफसीले फाइनल खेललाई भव्य बनाउन सबै तयारी पूरा गरेको जनाएको छ। रातकाे समयमा चल्ने यस प्रतियोगिताले खजुरा क्षेत्रमा फुटबलको नयाँ इतिहास र उचाइ थपेको स्थानीय खेलप्रेमीको भनाइ छ।






