राष्ट्रपति पुटिनको ईद–उल–फित्रको शुभकामना : मुसलमान समुदायप्रति सम्मान र कृतज्ञता

मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पवित्र महिना रमजानको समापनको अवसरमा रुसका मुसलमान समुदायलाई ईद–उल–फित्रको हार्दिक शुभकामना व्यक्त गरेका छन्। सन् २०२६ मार्च २० मा जारी गरिएको शुभकामना सन्देशमा राष्ट्रपति पुटिनले इस्लाम धर्मका चिरन्तन मूल्यहरू र नैतिक उन्नतिको महत्त्वलाई विशेष रूपमा उल्लेख गरेका छन्।
शुभकामना सन्देशमा राष्ट्रपति पुटिनले भनेका छन्, “शताब्दीयौंदेखि यो चाड विश्वासीहरूको नैतिक विकास, करुणा र दयाको प्रतीक बन्दै आएको छ, जसले उनीहरूलाई इस्लामको अटल मूल्यहरूतर्ट डोर्याउँदै आएको छ।”
रुसी राष्ट्रपतिले रुसका मुसलमानहरूले आफ्ना पुर्खाको ऐतिहासिक र आध्यात्मिक परम्पराप्रति गहिरो सम्मान प्रकट गर्दै यो चाड आ–आफ्नो समुदाय र परिवारभित्र व्यापक रूपमा मनाउने गरेको उल्लेख गरे। उनले पवित्र महिनाभरि ठूला परोपकारी, सांस्कृतिक, शैक्षिक र बालबालिकाका कार्यक्रमहरू आयोजना गर्ने सुन्दर परम्परा विकसित भएकोमा प्रशंसा व्यक्त गरे।
पुटिनले मुसलमान संगठनहरूले परिवार संस्थालाई सुदृढ बनाउन, नयाँ पुस्तालाई तयार गर्न तथा राज्य र सार्वजनिक संस्थाहरूसँग रचनात्मक संवाद स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको बताए। साथै, देशभक्ति, शैक्षिक र मानवीय पहलहरूलाई निरन्तर अघि बढाइरहेकोमा पनि उनले उच्च प्रशंसा गरे।
सन्देशको सबैभन्दा मार्मिक पक्ष भनेको राष्ट्रपति पुटिनले मातृभूमिको स्वतन्त्रता र स्वाधीनताका लागि आफ्ना सहयोद्धाहरूसँग काँधमा काँध मिलाएर लडिरहेका इस्लाम धर्मावलम्बीहरू, तथा हाम्रा नायकहरूको परिवार र आफन्तहरूको सहयोगमा खटिएकाहरूप्रति विशेष आभार व्यक्त गरेको छ।
शुभकामना सन्देशको अन्त्यमा राष्ट्रपति पुटिनले सम्पूर्ण मुसलमान समुदायलाई स्वस्थ जीवन, सफलता र उत्कृष्ट भविष्यको शुभकामना दिएका छन्।
रुसी राष्ट्रपतिको यो शुभकामना सन्देशले इस्लाम धर्मावलम्बीहरूप्रति सरकारको सम्मान र राष्ट्रिय एकताप्रति पुटिनको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। विविधताको बीच सहिष्णुता र सद्भावको यो सन्देशले रुसभित्र मात्र नभई विश्वभरिका मुसलमान समुदायको मन पनि छुने विश्वास गर्न सकिन्छ।





