ट्रम्पको स्पष्ट संकेत: इरानमा भू–सेना पठाउँदिन, युद्ध अर्कै तहमा

काठमाडौं – अमेरिका–इजरायल र इरानबीचको युद्ध चर्किरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा आफ्नो सेना नपठाउने स्पष्ट संकेत गरेका छन्। बिहीबार ह्वाइट हाउसमा जापानकी प्रधानमन्त्री साने ताकाइचीसँगको भेटवार्ताका क्रममा ट्रम्पले यो अभिव्यक्ति दिएका हुन्।
इरानमा अमेरिकी भू–सेना पठाउने सम्भावनाबारे पत्रकारको प्रश्नमा ट्रम्पले भने, “म कतै पनि सेना पठाउँदिन।”
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध ठूलो पैमानामा आक्रमण सुरु गरेका थिए। उक्त आक्रमणपछि विश्व समुद्रमा व्यापार प्रभावित भएको छ, तेलको मूल्य आकासिएको छ र विश्व अर्थतन्त्र नै हल्लिएको छ।
तर राष्ट्रपति ट्रम्पको यो अभिव्यक्तिले अमेरिका युद्धलाई जमिनी आक्रमणभन्दा फरक तहमा लैजान चाहन्छ भन्ने संकेत गरेको छ। विश्लेषकहरूका अनुसार अमेरिकी सेना प्रत्यक्ष रूपमा इरानी भूमिमा नपस्ने तर हवाई आक्रमण, साइबर आक्रमण र इजरायललाई सहयोग निरन्तर रहने रणनीति ट्रम्प प्रशासनले लिन सक्छ।
जापानी प्रधानमन्त्रीसँगको भेटमा ट्रम्पले दुई देशबीचको सैन्य सहकार्य र क्षेत्रीय सुरक्षा परिस्थितिबारे पनि छलफल गरेका थिए।





