मध्यपूर्वमा हतियारको बाढी : इरानसँगको द्वन्द्व चर्किंदै गर्दा अमेरिकाले खाडी मुलुकलाई अर्बौं डलरको हतियार बेच्ने

काठमाडौं – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व चरम उत्कर्षमा पुगिरहेका बेला अमेरिकाले मध्यपूर्वका आफ्ना तीन सहयोगी राष्ट्रहरूलाई अर्बौं डलरको हतियार बेच्ने स्वीकृति दिएको छ। अमेरिकी विदेश विभागले बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत र जोर्डनलाई ठूलो परिमाणमा अत्याधुनिक हतियार बिक्री गर्ने घोषणा गरेको हो।
विदेश विभागद्वारा जारी विज्ञप्तिअनुसार यूएईलाई सबैभन्दा धेरै हतियार बेचिने भएको छ। यूएईले करिब २.१ अर्ब डलरको ड्रोन रक्षा प्रणाली, ४.५ अर्ब डलरको लामो दूरीको रडार प्रणाली, ६४४ मिलियन डलरको एफ–१६ लडाकु विमानका लागि गोला–बारुद, र १.२२ अर्ब डलरको मध्यम दूरीको हावाबाट हावामा प्रहार गर्ने मिसाइल पाउने भएको छ।
त्यस्तै कुवेतलाई ८ अर्ब डलरको हवाई रक्षा रडार प्रणाली बेच्ने स्वीकृति दिइएको छ भने जोर्डनलाई ७०.५ मिलियन डलरको विमान र गोला–बारुद सहायता उपलब्ध गराइने भएको छ।
यसअघि मार्चको सुरुवातमा अमेरिकी विदेश विभागले आपत्कालीन आधारमा कंग्रेसको स्वीकृतिबिनै इजरायललाई १२ हजार बम तत्काल बेच्ने निर्णय गरेको थियो।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेका थिए। त्यसयता विश्व समुद्री मार्ग प्रभावित भएको छ, तेलको मूल्य आकासिएको छ र विश्व अर्थतन्त्र नै हल्लिएको छ। यस्तो संवेदनशील परिस्थितिमा अमेरिकाले खाडी मुलुकलाई ठूलो परिमाणमा हतियार बेच्नुले मध्यपूर्वमा तनाव झनै बढ्ने संकेत गरेको छ।
विश्लेषकहरूका अनुसार अमेरिकाले आफ्ना सहयोगीलाई हतियारले सज्जित पारेर इरानलाई थप दबाब दिन खोजेको छ भने यूएई, कुवेत र जोर्डनले इरानबाट आफ्नो सुरक्षा सुनिश्चित गर्न यी हतियार खरिद गरेका हुन्।





