मध्यपूर्वको आगोले युरोप नडगोस् : २०१५ को पाठ सम्झँदै युरोपेली संघको सतर्कता घोषणा

काठमाडौं – मध्यपूर्वमा बढ्दो युद्धको जोखिम र त्यसको असर युरोपमा पर्न सक्ने भयले युरोपेली संघका नेताहरू सतर्क बनेका छन्। बिहीवार बसेको युरोपेली काउन्सिलको बैठकले मध्यपूर्वको द्वन्द्वबाट उत्पन्न हुनसक्ने आप्रवासन संकटलाई रोक्न युरोप पूर्ण रूपमा तयार रहेको जनाएको छ।

बैठकपछि जारी निष्कर्षमा भनिएको छ, “यद्यपि द्वन्द्वले तुरुन्तै युरोपेली संघमा आप्रवासनको संकट ल्याएको छैन, तर उच्च सतर्कता र आवश्यक तयारी कायम राख्नु अत्यावश्यक छ।” सन् २०१५ मा भएको आप्रवासन संकटको पाठ सम्झँदै युरोपेली संघले आफ्नो सबै कूटनीतिक, कानुनी, सैन्य र आर्थिक उपकरण परिचालन गर्ने प्रतिबद्धता जनाएको छ।

नेताहरूले मध्यपूर्वको द्वन्द्व कम गर्न र अधिकतम संयमता अपनाउन पनि आग्रह गरेका छन्। उनीहरूले ऊर्जा र जल स्रोतमा हुने आक्रमण तत्काल रोक्न माग गर्दै अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न सबै पक्षलाई आह्वान गरेका छन्।

युरोपेली संघले आफ्नो समुद्री सुरक्षा अभियानलाई थप बलियो बनाउन नयाँ स्रोतहरू परिचालन गर्ने घोषणा गरेको छ। EUNAVFOR Aspides र EUNAVFOR Atalanta नामक दुई सैन्य अभियानलाई थप सुदृढ गरिनेछ, जसले रातो सागर, हिन्द महासागर र खाडी क्षेत्रमा समुद्री सुरक्षा सुनिश्चित गर्दै आएको छ।

सन् २०१५ मा सिरिया, अफगानिस्तान र इराकको अस्थिरतापछि १० लाखभन्दा बढी शरणार्थी युरोप प्रवेश गरेका थिए। त्यसले युरोपको सीमा र शरणार्थी प्रणाली नै धराशायी बनाइदिएको थियो, जसको पाठ युरोपेली नेताहरूले बिर्सेका छैनन्।

बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले पनि अमेरिका र इजरायललाई इरानसँगको युद्ध अन्त्य गर्न आग्रह गरे। उनले सैन्य कारबाहीको सट्टा कूटनीतिलाई प्राथमिकता दिन पनि दबाब दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button