अरब–इस्लामी गठबन्धनको कूटनीतिक चेतावनी: इरानलाई आक्रमण रोक्न दबाब, इजरायलको विस्तारवादको भत्र्सना

काठमाडौं / पश्चिम एसियामा बढ्दो तनावका बीच १२ अरब तथा इस्लामी राष्ट्रका विदेशमन्त्रीहरूले बुधबार एक महत्वपूर्ण परामर्शदात्री बैठक सम्पन्न गरेका छन्। उक्त बैठकले इरानलाई आक्रमण तत्काल रोक्न आग्रह गर्दै इजरायलको क्षेत्रीय ‘विस्तारवादी नीति’को कडा भत्र्सना गरेको छ।

साउदी प्रेस एजेन्सीका अनुसार बहराइन, इजिप्ट, कतार, साउदी अरब र लेबनानसहितका राष्ट्रहरूले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै इरानलाई तत्काल आक्रमण रोक्न आह्वान गरेका छन्। साथै, अन्तर्राष्ट्रिय कानुन र असल छिमेकीको सिद्धान्तको सम्मान गर्नुपर्नेमा जोड दिइएको छ।

मन्त्रीस्तरीय बैठकले आक्रमण रोक्नु नै क्षेत्रमा तनाव अन्त्य, सुरक्षा र स्थिरता कायम गर्ने, तथा संकट समाधानका लागि कूटनीतिलाई प्रवर्द्धन गर्ने पहिलो कदम भएको उल्लेख गरेको छ। उनीहरूले इरानलाई होर्मुज जलडमरूमध्यमा अन्तर्राष्ट्रिय नौसञ्चालन अवरुद्ध गर्ने कुनै पनि कदम वा धम्की नदिन पनि आग्रह गरेका छन्।

मन्त्रीहरूले इरानसँगको भावी सम्बन्ध राष्ट्रहरूको सार्वभौमसत्ताको सम्मान, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, उनीहरूको सार्वभौमसत्ता वा क्षेत्रको उल्लङ्घन नगर्ने, तथा क्षेत्रीय राष्ट्रहरूलाई धम्की दिन आफ्नो सैन्य क्षमताको प्रयोग वा विकास नगर्ने जस्ता पक्षहरूमा निर्भर हुने स्पष्ट पारेका छन्।

बैठकले लेबनानको सुरक्षा, स्थिरता र क्षेत्रीय अखण्डताप्रति पुनः समर्थन व्यक्त गर्दै सम्पूर्ण लेबनानी भूभागमा लेबनानी राज्यको सार्वभौमसत्ता रहेको पुष्टि गरेको छ। साथै, हतियारलाई राज्यमा सीमित गर्ने लेबनानी सरकारको निर्णयलाई समर्थन गरेको छ।

त्यस्तै, उनीहरूले लेबनानविरुद्ध इजरायलको आक्रमण र क्षेत्रमा उसको ‘विस्तारवादी नीति’को समेत भत्र्सना गरेका छन्।

मन्त्रीहरूले यस सम्बन्धमा निरन्तर गहन छलफल र समन्वय गर्ने, उदाउँदा मुद्दाहरूको अनुगमन तथा मूल्यांकन गर्ने, तथा आफ्नो सुरक्षा, स्थिरता र सार्वभौमसत्ताको रक्षाका लागि साझा धारणा निर्माण र आवश्यक कानुनी उपायहरू अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो बैठक फेब्रुअरी २८ देखि सुरु भएको संयुक्त अमेरिकी–इजरायली हमलापछि तनाव चुलिएको बेला भएको हो। उक्त हमलाप्रति इरान र उसका क्षेत्रीय सहयोगीहरूले मध्यपूर्वभर इजरायली तथा अमेरिकी लक्ष्यहरूमाथि आक्रमण गरी जवाफ फर्काएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button