नेतन्याहूको घोषणा: इरानको युरेनियम संवर्धन र मिसाइल क्षमता ध्वस्त, अबको लक्ष्य ‘तानाशाही अन्त्य’

काठमाडौं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानविरुद्धको संयुक्त अमेरिकी–इजरायली आक्रमणले ठूलो सफलता हासिल गरेको दाबी गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै उनले इरानको युरेनियम संवर्धन र मिसाइल उत्पादन क्षमता पूर्ण रूपमा नष्ट भएको घोषणा गरे।
“हामीले इरानविरुद्ध तीनवटा प्रमुख लक्ष्य निर्धारण गरेका थियौं – युरेनियम संवर्धन, मिसाइल उत्पादन, र तानाशाही शासनको अन्त्य,” नेतन्याहूले भने, “पहिलो दुई लक्ष्य हवाई आक्रमणबाट पूरा भएका छन्। तेस्रो लक्ष्य अब इराणी जनताको हातमा छ।”
उनले थपे, “क्रान्ति कहिल्यै हवाइ आक्रमणबाट हुँदैन। त्यसका लागि धेरै जमिनी विकल्पहरू छन्, जुन म अहिले खुलासा गर्न सक्दिनँ।”
बुधबार इरानको प्राकृतिक ग्यास क्षेत्रमा गरिएको आक्रमणबारे नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई पुष्टि गर्दै त्यो आक्रमणअघि अमेरिकालाई जानकारी नदिइएको बताए। उनले भने, “राष्ट्रपति ट्रम्पले हामीलाई भविष्यमा हुने आक्रमण रोक्न भन्नुभएको छ, र हामी त्यही गरिरहेका छौं।”
नेतन्याहूले अमेरिका र इजरायल मिलेर क्यास्पियन सागरमा रहेको इरानको सम्पूर्ण नौसेना ध्वस्त पारेको पनि दाबी गरे। युद्धको अवधिबारे सोधिएको प्रश्नमा उनले भने, “यो जति आवश्यक छ, त्यति लामो समयसम्म चल्नेछ, तर मानिसहरूले सोचेभन्दा धेरै छिटो सकिनेछ।”
पत्रकार सम्मेलनकै क्रममा इरानबाट इजरायलतर्फ मिसाइल प्रहार गरिएको थियो, जसका कारण उत्तरी इजरायलमा साइरन बजेका थिए। इजरायली आपत्कालीन सेवाका अनुसार भने कुनै हताहती भएको छैन।
गत फेब्रुअरी २८ मा सुरु भएको संयुक्त अमेरिकी–इजरायली आक्रमणपछि इराण र उसका क्षेत्रीय सहयोगीहरूले मध्यपूर्वभर इजरायली तथा अमेरिकी लक्ष्यहरूमाथि जवाफी आक्रमण गरिरहेका छन्। यही बढ्दो तनावका बीच नेतन्याहूको यो अभिव्यक्ति आएको हो।





