खजुरामा वर्षाका कारण फुटबल प्रतियोगिताको फाइनल स्थगित

बाँके, खजुरा — खजुरा गाउँपालिका–४ मा सञ्चालन भइरहेको “प्रथम खजुरा नाइट 5A साइड खुल्ला फुटबल प्रतियोगिता–२०८२” अन्तर्गत फाइनल खेल वर्षाका कारण स्थगित गरिएको छ।

ब्रदर्स फुटबल क्लबको आयोजनामा गत २०८२ साल फागुन ३० गतेदेखि सुरु भएको उक्त प्रतियोगिताको समापन तथा फाइनल खेल चैत ६ गतेका लागि तय गरिएको थियो। तर निर्धारित समयमा परेको अविरल वर्षाका कारण मैदान खेल्न अयोग्य बनेपछि सो दिनको खेल सञ्चालन हुन नसकेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतिकूल मौसमका कारण फाइनल खेल तत्कालका लागि स्थगित गरिएको हो। अब फाइनल खेल कहिले सञ्चालन गरिने भन्नेबारेमा छिट्टै नयाँ मिति सार्वजनिक गरिने र त्यससम्बन्धी जानकारी फाइनलमा पुगेका टिमहरू तथा सम्पूर्ण खेलप्रेमीलाई प्रदान गरिने बताइएको छ।

स्थानीय स्तरमा उत्साहका साथ आयोजना गरिएको प्रतियोगिताले खेलकुदप्रेमीहरूबीच राम्रो प्रतिस्पर्धा र सहभागिता जुटाएको थियो। आयोजकले असहज परिस्थितिप्रति क्षमायाचना गर्दै सबैलाई धैर्यता अपनाउन अनुरोध गरेको छ।

प्रतियोगिताका संयोजक भरत घर्ती मगरका अनुसार मौसम अनुकूल हुने बित्तिकै फाइनल खेल सम्पन्न गरिनेछ। क्लबका अध्यक्ष विवेक सागर पौडेलले पनि खेलाडी, समर्थक तथा सरोकारवालालाई सहयोग र समझदारीका लागि धन्यवाद व्यक्त गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button