१८ बैशाख २०८३, शुक्रबार

श्रमको गरिमा : डोजर र डिजिटलको चेपुवामा मजदुर

सम्पादकीय

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। विश्वभर श्रमको गरिमा, अधिकार र सम्मानको पक्षमा आवाज उठाउने दिन। सन १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा कामको माग राख्दै सडकमा उत्रिएका मजदुरहरूको सङ्घर्षको स्मरण गर्ने दिन। तर, १४० वर्षपछि आज पनि प्रश्न उही छ। के श्रमको गरिमा स्थापित भयो त?

यसपटकको मे दिवस नेपाली श्रमिकका लागि विशेष चिन्ताको समयमा आएको छ। एकातिर काठमाडौंका नदीकिनारमा डोजर चलिरहेको छ। वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी परिवार विस्थापित छन्। सरकारले उनीहरूलाई ‘व्यवस्थापन’ गर्ने आश्वासन त दिएको छ, तर कहाँ र कसरी भन्ने ठोस योजना छैन। ‘सूचना जारी गर्नु नै तयारी हो’ भन्ने सहरी विकास मन्त्रालयको भनाइले श्रमिक र गरिबप्रति राज्यको दृष्टिकोण कति असंवेदनशील छ भन्ने देखाउँछ। यी सुकुम्बासीमध्ये अधिकांश श्रमिक वर्गका हुन्- दैनिक ज्यालादारी गर्ने, होटलमा भाँडा माझ्ने, निर्माण स्थलमा इँटा बोक्ने। उनीहरूकै पसिनाले यो सहर चल्छ। तर, सहरलाई ‘सुन्दर’ बनाउने अभियानमा उनीहरूकै बासस्थानमा डोजर चल्छ।

यता विश्व एआई अर्थात कृत्रिम बुद्धिमत्ताको युगमा प्रवेश गरिरहेको छ। मेसिनले मानिसको काम गर्न थालेपछि रोजगारी सङ्कटको चिन्ता वैश्विक बनेको छ। तर, चीनको हाङचौ अदालतले यसै साता एउटा महत्त्वपूर्ण फैसला सुनायो, ‘एआईले कर्मचारी हटाउने आधार होइन।’ एआईले काम गर्न थाल्यो भन्दैमा कर्मचारीलाई बर्खास्त गर्न नमिल्ने उक्त फैसलाले प्रविधिको युगमा श्रम अधिकार संरक्षणको बाटो देखाएको छ। चीनको मूल एआई उद्योग १.२ ट्रिलियन युआन नाघेको र सन २०३० सम्म ९० प्रतिशत क्षेत्रमा एआई प्रवेश गर्ने अनुमानका बीच यो फैसला कोसेढुङ्गा सावित भएको छ।

नेपालको अवस्था हेर्ने हो भने, यहाँ अझै श्रमिकको मूलभूत समस्या नै सम्बोधन भइसकेको छैन। वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ। खाडी मुलुक र मलेसियामा नेपाली श्रमिकको शोषण, अमानवीय कामको अवस्था र मृत्युको शृङ्खला रोकिएको छैन। स्वदेशमै पनि न्यूनतम ज्यालाको कार्यान्वयन फितलो छ, अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षाको दायराभन्दा बाहिर छन्, र युवा पलायनले विकराल रूप लिँदैछ।

प्रविधिको विकास रोकिने छैन। तर, प्रविधिले मानिसलाई विस्थापित गर्ने होइन, सशक्त बनाउने हो। चिनियाँ अदालतको फैसलाले भनेको यही हो। प्रविधिको लाभ कम्पनीले मात्र होइन, श्रमिकले पनि पाउनुपर्छ। यो सन्देश नेपालका लागि पनि उत्तिकै सान्दर्भिक छ। डोजर चलाएर बस्ती उजाड्ने र प्रविधिको नाममा श्रमिकलाई बेवास्ता गर्ने दुवै प्रवृत्ति एउटै मानसिकताको उपज हो, श्रमको अवमूल्यन।

आजको दिनमा हामीले बुझ्नुपर्ने एउटा मूलभूत सत्य छ। श्रम कुनै वस्तु होइन, यो मानवीय गरिमाको अभिन्न अंग हो। डोजर र डिजिटल दुवैको चुनौतीबीच मजदुरको अधिकार सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व हो। सहर सुन्दर बनाउने अभियानमा गरिबको बासस्थान उजाड्ने होइन, उनीहरूलाई सम्मानजनक जीवन दिने बाटो खोजौं। प्रविधिलाई अँगालौं, तर श्रमिकलाई चट्टानबाट धकेल्ने हतियारका रूपमा होइन।

श्रमको गरिमा स्थापित होस्। मे दिवसको यही शुभकामना।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button